२१ भदौ, विराटनगर ।
स्थानीय तहहरुको सञ्जाल सिटीनेट नेपाल राष्ट्रिय च्याप्टरको अध्यक्षमा विराटनगर महानगरपालिका चुनिएको छ ।
विराटनगरमा बिहीबार सम्पन्न वार्षिक साधारणसभा एवम् अधिवेशनले विराटनगर महानगरपालिकालाई अध्यक्ष तोकेको हो । अधिवेशनबाट १३ सदस्य समिति पनि गठन गरेको छ ।
नेपाल च्याप्टरको उपाध्यक्षमा बुटवल उपमहानगरपालिका, महासचिवमा तानसेन नगरपालिका, कोषाध्यक्ष भीमदत्त नगरपालिका चयन भएका छन् ।
सदस्यहरूमा पोखरा, भरतपुर, ललितपुर महानगरपालिकासहित जितपुर सिमरा, हेटौँडा उपमहानगरपालिका र वीरेन्द्रनगर नगरपालिका छन् ।
संस्थागत सदस्यहरूमा भूकम्प प्रविधि समाज नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सदस्य छन् ।
१६ वटा नगरपालिकाका मेयर तथा उपमेयरहरू सहभागी अधिवेशनले विधान पारित गरेको निवर्तमान अध्यक्ष तथा हेटौडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाले जानकारी दिइन् ।
अधिवेशनले सदस्य पालिकाहरूको प्रविधियुक्त, सुरक्षित तथा प्रभावकारी सहरी विकास प्रणालीको प्रवर्द्धन, फोहोर मैला व्यवस्थापन, दिगो विकास लक्ष्य २०३० र गुणस्तरीय विकास व्यवस्थापन र कार्यान्वयनमा हुने सहकार्यका लागि यो फोरम उपलब्धिमूलक रहने उनले बताइन् ।

स्थानीय विपद् जोखिम न्यूनीकरण तालिम तथा अनुसन्धान केन्द्रको व्यवस्थापनको लागि हेटौँडा उपमहानगरपालिकाले जग्गा प्रदान गर्ने तथा सम्पूर्ण सदस्यहरूको सहकार्यमा कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने निर्णय भएको छ ।
सिटिनेट अन्तर्राष्ट्रिय संस्थाको नेपाल च्याप्टरमा २१ नगरपालिका संस्थागत सदस्यहरू रहेका छन् । २१ वटा विस्तारित नगरपालिका सदस्यहरू रहेका छन् ।
जापानमा स्थापित यो संस्थाले १९ देशमा सञ्जाल बनाएको छ । २०५८ सालमा सिटीनेटको नेपाल च्याप्टर गठन भएको थियो । नयाँ कार्यसमितिको कार्यकाल चार वर्षको हुनेछ । सिटिनेटको दशौँ अधिवेशन पोखरा महानगरपालिकामा आयोजना गरिने भएको छ ।
जनसङ्ख्या वृद्धिको नकारात्मक असरलाई मध्यनजर गरी एसिया तथा प्रशान्त क्षेत्रका सहरी विकास सम्बन्धी संस्थाहरूको सञ्जालको नेतृत्व गर्न सन् १९८७ मा सिटिनेट नामक अन्तर्राष्ट्रिय संस्थाको स्थापना भएको हो ।
जापानमा स्थापित यो संस्थाले मलेसिया, श्रीलङ्का, भारत, नेपाल, इन्डोनेसिया, फिलिपिन्स लगायत १९ देशमा सञ्जाल बनाईसकेको छ ।
सिटिनेटको सञ्जालमा जोडिनको लागि नगरपालिकाको न्यूनतम जनसङ्ख्या १ लाख बढी भएको हुनुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ ।
संस्थाको २०७९ फागुन १९ र २० गते धनगढीमा पूर्ण बैठक बसेको थियो भनेँ २०८० भदौ २१ गतेको अधिवेशनले विधान पारित गरेको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिए ।सिटिनेटको सम्मेलनमा ४ महानगरसहित १४ पालिकाका मेयरहरुको सहभागिता रहेको थियो ।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाह भने अन्तिम समयमा आएर विराटनगर आउने कार्यक्रम स्थगित गरेका थिए ।
काठमाडौं महानगरपालिका– १६ नम्बर का वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि बालेनले विराटनगर जाने कार्यक्रम स्थगित गरेको विराटनगर महानगरले जनाएकोछ ।
वडाध्यक्षको निधनपछि काठमाडौं महानगर शोकमा छ । महानगर र अन्तर कार्यालयहरुमा महानगरले शुक्रबार शोक बिदा दिएको छ । बालेन आज विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रामा सहभागि हुने कार्यक्रम रहेको थियो ।

