बझाङमा भूकम्पपछि अस्पताल बाहिरै सुत्केरी गराईयो,पहिरोले राजमार्ग अवरुद्ध

बझाङमा भूकम्पपछि अस्पताल बाहिरै सुत्केरी गराईयो,पहिरोले राजमार्ग अवरुद्ध

१६ असोज, काठमाण्डौ ।
बझाङमा मंगलबार ठूला भूकम्पपछि सानातिना परकम्प आएको छ । दिउँसो ३ बजेर ४५ मिनेटमा बझाङको सुर्मा आसपास केन्द्रविन्दु भएको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको सुर्खेत कार्यालयले जानकारी गराएको छ । कार्यालयका अनुसार यो मंगलबारै दिउँसो गएको ६.३ म्याग्निच्युडको भूकम्पको परकम्प हो ।

अरू केही साना परकम्प पनि मापन गरिएको छ । तर, त्यसको म्याग्निच्युड यकिन गर्न समय लाग्ने कार्यालयले जनाएको छ । भूकम्पले पश्चिम नेपालका विभिन्न जिल्लामा क्षति पुर्याएको छ । अहिलेसम्म मानवीय क्षति भएको विवरण नआएको भएपनि बझाङ सहितका केही जिल्लामा भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

स्थानीयका अनुसार अहिलेसम्म भूकम्पबाट दुर्गाथली गाउँपालिका, तल्कोट गाउँपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिकाका विभिन्न पुराना सरकारी कार्यालय, विद्यालयहरु र घरहरु भत्किएका छन् ।भूकम्प जाँदा तलकोट गाउँपालिकामा क्षति पुर्याएको छ ।

‘गाउँपालिका कार्यालय अगाडिकै जमिन चिरा परेको छ’, गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवर भण्डारीका अनुशार ‘१ नम्बरको सुनिकोटको वडा कार्यालय भवन नै ध्वस्त भयो भन्ने खबर छ ।’ जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक भरत शाहका अनुसार भूकम्पले पहिरो आउँदा जय पृथ्वी राजमार्ग समेत अवरुद्ध भएको छ ।

पहिरोमा परेर २ जना घाइते भएको प्रहरी प्रमुख शाहले बताए । जिल्ला प्रहरी कार्यालयको भवन चर्किएको र तालकोट गाउँपालिकाको गाडीमा समेत क्षति भएको शाहले बताए । बझाङ सदरमुकाम चैरपुर आसपास केन्द्रविन्दु भएर आज दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि साना परकम्प मापन भइरहेको कार्यालयले जनाएको छ ।

मंगलबारै दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट आसपास केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । बझाङ केन्द्र भएर मंगलबार दिउँसो दुई पटक भूकम्प गएपछि गर्भवती महिलालाई अस्पताल भवन बाहिरै सुत्केरी गराइएको छ। जिल्ला अस्पताल बझाङको प्राङ्गणमा एक महिलाको सुत्केरी गराइएको डाक्टरहरूले बताएका छन्। भूकम्पबाट घर तथा विद्यालयहरूमा क्षति पुगेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.