९ मंसिर, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा अहिले खेलाडीको ट्रेड (किनबेच) भइरहेको छ । यसैबीच भारतका अल राउण्डर हार्दिक पान्ड्याबारे अपडेट आएको छ । क्रिकइन्फोका अनुसार हार्दिकले गुजरात टाइटन्स छाड्ने भएका छन् । हार्दिकलाई मुम्बई इण्डियन्सले किन्ने निश्चित भएको मिडिया रिपोर्टमा दाबी गरिएको छ ।
दुई सिजन गुजरातको कप्तानी गर्दै खेलेका हार्दिकलाई मुम्बईले फिता ल्याउने तयारी गरेको हो । यसका लागि मुम्बईले गुजरातलाई नगद शुल्क तिर्ने सहमति भएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार हार्दिकलाई मुम्बईले प्रति सिजन १५ करोड भारु पारिश्रमिक दिने सहमति भएको छ ।
आइपिएलको खेलाडी रिटेन्सनको समय नोभेम्बर २६ अपराहन्न ४ बजेसम्म रहेकाले मुम्बईले हार्दिकलाई भित्र्याउन केहि खेलाडीलाई रिलिज गर्ने बताइएको छ । जसमा ईङल्याण्डका बलर जोफ्रा आर्चरको नाम अगाडि रहेको छ ।
हार्दिकले २०२२ मा गुजरातको डेभ्यु सिजनको कप्तानी गर्दै उपाधि जिताएका थिए भने २०२३ मा उपविजेता बनेका थिए । रोहित शर्मा अब विस्तारै टी–२० क्रिकेटबाट टाढिने भएपछि मुम्बईले हार्दिकलाई नियमित कप्तान बनाउन भित्र्याउन लागेको बुझिएको छ ।
हाल भारतको राष्ट्रिय टिममा टी–२० कप्तानसमेत रहेका हार्दिकले अब मुम्बईमा रोहितको स्थान लिनसक्ने अनुमान गरिएको छ । हार्दिकको क्रिकेटमा उदय हुनुमा मुम्बई इण्डियन्सकै भूमिका रहेको छ । हार्दिकलाई २०१५ मा मुम्बईले १० लाख भारुमा भित्र्याएको थियो, त्यति बेला उनी राष्ट्रिय टिममा समेत पुगिसकेका थिएनन् । हार्दिक मुम्बईले १०१५, २०१७ र २०१९ मा उपाधि जित्दाका प्रमुख खेलाडीसमेत थिए ।