Nepal Times
Nepal Times
3
Shares

काठमाडौंमा प्रदूषणको मात्रा १५० एक्यूआईभन्दा माथि

काठमाडौंमा प्रदूषणको मात्रा १५० एक्यूआईभन्दा माथि

२१ मंसिर, काठमाण्डौ ।
प्रदूषण बढेसँगै काठमाडौंको वायु अस्वस्थकर बनेको छ । काठमाडौं उपत्यकाका अधिकांश स्थानको वायुमा प्रदूषणको मात्रा १५० एक्यूआई (वायुको गुणस्तर सूचकांक) भन्दा माथि पुगेको छ । वातावरण विभागको वायुको गाुणस्तर सूचक यन्त्रमा बुधबार कीर्तिपुर सबैभन्दा प्रदूषित देखिएको छ ।

अपराह्न १२ बजे रेकर्ड भएको तथ्यांकअनुसार कीर्तिपुरमा प्रदूषणको मात्रा १७५ एक्यूआई पुगेको छ । खुमलटारमा १७३, पुलचोकमा १६८, शंखपार्कमा १६५, भैँसेपाटीमा १६४ र रत्नपार्कमा १५८ एक्यूआई देखिएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ ।

१५१ भन्दा माथि भए सबैका लागि अस्वस्थकर मानिन्छ । एक्यूआई जति बढ्दै गयो त्यति घातक हुन्छ । एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा पीएम २.५ जाँचिन्छ । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।

यस्ता कणहरू श्वासप्रश्वासको माध्यमबाट सजिलै भित्र छिर्ने, जम्मा भएर बसिरहने र रगतको माध्यमबाट सबै अंगमा फैलिने भएकाले घातक हुने विज्ञहरू बताउँछन् । यसैबीच वायु प्रदूषणले हुने जोखिम रोक्न काठमाडौंसहित विश्वका आठ ठूला सहरका प्रमुखहरुले संयुक्त प्रतिबद्धता जनाएका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई)मा संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्बन्धी २८ औं सम्मेलन (कोप–२८) चलिरहँदा स्वस्थ सहरका लागि साझेदारी (पार्टनरसिप फर हेल्दी सिटिज)को विश्व सञ्जालमा आबद्ध सहरका प्रमुखहरुले जुम बैठकमार्फत यस्तो प्रतिबद्धता जनाएका हुन् ।

प्रतिबद्धता जनाउने सहरहरुमा काठमाडौं महानगरपालिकासहित अमेरिकाको सिकागो, रोमानियाको बुखारेस्ट, ब्राजिलको फोर्टालिजा, इण्डोनेसियाको जाकार्ता, बंगलादेशको ढाका, रवंदाको किगाली र उगान्डाको काम्पला छन् ।

प्रमुखहरुले बुधबार साँझ सार्वजनिक एक संयुक्त प्रतिवद्धता भनेका छन्, ‘जनसंख्याको आकार र चुनौतीहरूसँगको निकटताले सहरहरुले परिवर्तनको उदाहरणीय नेतृत्व गर्न सक्ने प्रचुर सम्भावना बोकेका छन् । कोप–२८ मा विश्व नेताहरू भेला भइरहँदा हामी विश्वभरका सहरहरूलाई वायु अनुगमनका प्रभावकारी कार्यक्रमहरू गर्न र आफ्ना नागरिकको जीवनस्तर सुधार गर्न तथ्यांकमा आधारित सार्वजनिक स्वास्थ्य सेवा प्रवर्द्धन गर्न आह्वान गर्दछौं ।’

प्रतिबद्धता व्यक्त गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वायु गुणस्तर अनुगमन सञ्जाललाई सुदृढ गरेर भरपर्दो नीतिसहित विद्यमान वायु प्रदूषण न्यूनीकरण गर्ने नीति रहेको बताएका छन् । समुदायलाई सचेत बनाउँदै प्रदूषण न्यूनीकरणमा उत्तरदायी बनाउन लक्षित कार्यक्रमहरु सञ्चालनका क्रममा रहेको उनले बताएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.