मल्टिस्टारर फिल्म ‘छक्का पञ्जा ३’ को दोस्रो गीत रिलिज भएको छ । रिलिज अगावै ‘पहिलो नम्बरमा’ बोलको गीतले यूट्युबमा करोड बढी ‘भ्यूअर्स’ बटुल्दै रेकर्ड राखेपछि फिल्ममा समावेश ‘पछि उमेर ढल्किन्छ फेरि कालै पल्किन्छ’ गीत निर्माण टिमले सार्वजनिक गरेको हो ।
यो गीत सोमवार ठिक ११ बजे यो गीतलाई यूट्युबबाट रिलिज गरिएको हो । गीतको भिडियोमा अभिनेत्री दीपिका प्रसाइँ, दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङ फिचर्ड छन् । सो गीतमा निशान भट्टराई र एन्जिला रेग्मीको स्वर रहेको छ । अर्जुन र दीपकराज गिरीको शब्द रहेको यो गीतको संगीत अर्जुन पोखरेलले भरेका छन् ।
पुरुषोत्तम प्रधानले खिचिएको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । गीतमा दीपिका र दीपकको जोडी कमालको देखिएको छ । दीपाश्री निरौला निर्देशित यस फिल्मको खातामा अर्को हिट नम्बर थपिने पक्का छ । संगीतपक्षकै कारण उक्त फिल्मको दुई सिरिजले बक्सअफिसमा आक्रामक इनिसियल व्यापार गर्न सफल भएको थियो ।
फिल्मले कमेडी कथामा सामाजिक सन्देश बोकेको बताइएको छ । यसको कथा दीपक आफैंले लेखेका हुन् । फिल्ममा केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माताको रुपमा छन् । दीपक, केदार, जितु र यमन श्रेष्ठले डाइलग लेखेका हुन् ।
दशैँमा रिलिज हुने ‘छक्का पञ्जा ३’ मा अभिनेत्री प्रियंका कार्कीको विशेष भूमिका छ भने अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता संजोग कोइराला गेस्ट रोलमा छन् । अभिनेत्री बर्षा राउत ‘पहिलो नम्बरमा’ गीतमा मात्र रहेको जनाईएको छ ।