Nepal Times
Nepal Times
3
Shares

नेपालमा घलेको सुनराज्य कसरी चलेको थियो ?

नेपालमा घलेको सुनराज्य कसरी चलेको थियो ?

८ पुस, काठमाण्डौ ।
१४ केजी सुनसहित पक्राउ परेको गिरोहले यसअअघि नै १३८ केजी सुन नेपाल भित्र्याइसकेको खुलेको छ । यो खुलासा छानबिन समितिले गरेको हो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट केही साताअघि १४ केजी सुनसहित चन्द्रबहादुर घले पक्राउ परेका थिए । उनले गत मंसिर २१ गते राति फ्लाई दुवईबाट आएका चन्द्र घलेले ज्याकेटभित्र लुकाएर १४ किलो सुन ल्याएका थिए ।

उनी विमानबाट ओर्लिनासाथ पक्राउ परेका थिए । त्यसपछि छानबिन समिति गठन भएको थियो । उक्त तस्करी प्रकरणबारे अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयले भन्सार प्रमुख उपसचिव मणिराम पौडेलको संयोजकत्वमा विमानस्थलका डीएसपी सूर्य सुवेदीसहितको ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

सो समितिले छानबिन प्रतिवेदन सार्वजनिक गर्दै १३८ केजी सुन नेपाल भित्र्याएकोमा १४ केजी मात्रै बरामद गरिएको जनाएको छ । समितिका अनुसार मीनबहादुर घलेले दुबईमा बस्ने गरेका भारतीय नागरिकसँग मिलेर सुन तस्करी गर्ने गरेका थिए । मीनबहादुर स्वयं, चन्द्र र कृष्णकुमार श्रेष्ठले भरिया बनेर सुन ल्याउने गरेको पाइएको छ ।

मीनले एयरपोर्टमा सेटिङ मिलाउन दानबहादुर गुरुङलाई प्रयोग गर्ने गरेको र एयरपोर्टबाट सुन बाहिर निकाल्न नागरिक उड्डयन प्राधिकरणका कर्मचारी राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, अवकाशप्राप्त भई करारमा कार्यरत रमेश देउला, पलम्बर शेरबहादुर बस्नेत र कार्यालय सहयोगी अनिल श्रेष्ठको भूमिका रहेको समितिको दाबी छ ।

घले पक्राउ परेकै दिन चन्द्रकुमारले सुन मीनबहादुर घलेको भएको र आफू भरिया मात्रै रहेको बयान प्रहरी र भन्सार कार्यालयका कर्मचारीलाई दिए । त्यही बयानका आधारमा मीनबहादुर समेत पक्राउ परेका थिए । ८ जना सरसफाइ कर्मचारी पक्राउ परेका छन् । त्यस्तै दुवईबाट सुन तस्करी गर्ने अर्का आरोपी स्याङ्जाका कृष्णकुमार श्रेष्ठलाई समेत पक्राउ गरिएको छ ।

छानबिन समितिका संयोजक उपसचिव मणिराम पौडेलका अनुसार, दुबईबाट तस्करीको सुन बोकेर त्रिभुवन विमानस्थलसम्म ल्याउने प्रमुख पात्र कृष्ण श्रेष्ठ र चन्द्र घले हुन् । त्यहाँबाट विमानस्थलकै सरसफाई कर्मचारीकै सहयोगमा सुन बाहिर ल्याउने गरेको देखिएको छ । चन्द्र घले र कृष्ण श्रेष्ठले पटक–पटक गरी क्वीन्टल भन्दा बढी सुन तस्करी गरेको समितिको दाबी छ ।

समितिको अनुसन्धानका क्रममा श्रेष्ठ र घलेले प्रत्येक पटक दुबईबाट १४ किलो नै ल्याउने गरेको आशंका गरेको छ । समितिको अनुसन्धानका क्रममा चन्द्र भन्दा कृष्ण श्रेष्ठले बढी सुन तस्करी गरेको देखिएको छ । उनी २०१९ देखि नै पटक–पटक दुबई काठमाडौं ओहोर–दोहोर गरेको खुलेको छ ।

श्रेष्ठले आफैंले पनि ७ पटक १४ किलोको दरले सुन दुवईबाट विमानस्थलसम्म ल्याएको स्वीकार नै गरेका छन् । हालसम्म सो प्रकरणमा ११ जना पक्राउ परेका छन् । जसमध्ये तस्करी गर्ने माथिल्लो तहका मिनबहादुर घले, कृष्णकुमार श्रेष्ठ र चन्द्र घले भएको खुलेको छ ।

त्यस्तै, पक्राउ परेका शेरबहादुर बस्नेत उड्डयन प्राधिकरणका सरसफाइ कर्मचारी र लेकबहादुर तामाङ कार्यालय सहयोगी हुन् । उनीहरूबाहेक समितिले विमानस्थलका सरसफाइ सुपरभाइजर सुशीला पाण्डे, सरसफाइ कर्मचारी मोहन चेपाङ र कपिल ओझालाई समेत नियन्त्रणमा लिइसकेको छ । अझै अनुसन्धान जारी छ ।

सुनका मालिक भारतीय रहेको र आफू सेटिङ मिलाउने भूमिकामा मात्रै सीमित रहेको दाबी मीनबहादुरको छ । अध्यागमन विभागको रेकर्ड अनुसार, चन्द्र घले २४ पटक काठमाडौं–दुबई ओहोर–दोहोर गरेको देखिन्छ भने कृष्णले श्रेष्ठ २६ पटक ओहोर–दोहोर गरेको देखिएको छ । उनीहरुले दुवईबाट सुन विमानस्थलको शौचालयमा राख्ने र त्यहाँबाट सरसफाई कर्मचारीले बाहिर पास गर्ने गरेको भेटिएको छ ।

त्यो काम एक पटक गरेबापत् उनीहरुले एक लाख रुपैयाँसम्म पाउने र संलग्न कर्मचारीले बाँडफाँड गरेर लिने गरेको समितिको दाबी छ । त्यस्तै दुवईबाट सुन तस्करी गर्ने श्रेष्ठ र घले ६० हजार तथा मिन घलेले एकलाख पाउने गरेको बयान समितिलाई दिएका छन् । पौडेलका अनुसार, चन्द्र घले र कृष्ण श्रेष्ठले दुवैले गरेर एक सय २४ किलो सुन तस्करी गरेको स्वीकार गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.