२ माघ, काठमाण्डौ ।
सेयर बजारमा दुई वर्षयताकै उच्च कारोबार भएको छ । आज ८ अर्ब रुपैयाँ माथिको सेयर किनबेच भएको छ । बैंकको ब्याजदर घटेको प्रभावस्वरुप नेप्सेले अर्ध सतक हान्दा नेप्सेमा २०७८ माघ २० यताकै उच्च कारोबार भएको हो । त्यो दिन ८ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो । मंगलबार नेप्से ५४.५४ अंकले बढेको छ ।
आठ अर्ब दुई करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । परिसूचक २१७५.१७ विन्दुमा बन्द भएको छ । यो ६ महिनायताकै उच्च विन्दु हो । ६ महिनाअगाडि साउन ८ गते नेप्से २२ सय विन्दुमा थियो । हिजो (सोमबार) नेप्से २१२० विन्दु कायम थियो ।
आज २१४ कम्पनीको सेयर मूल्य बढेको छ । ३१ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर छ । सेयर मूल्य स्थिर हुनेमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र साम्लिङ पावर कम्पनी छन् । १३ वटै उपसमूहले नेप्से बढाएका हुन् । फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै बढेको छ ।
यो उपसमूहको सूचक ४.७५ प्रतिशतले बढेको हो । यस्तै, लगानी, लघुवित्त र जलविद्युत उपसमूहको सूचक ३ प्रतिशतभन्दा बढी उकालो लागेको छ । बैंक, विकास बैंक, व्यापार, उत्पादनमूलक र अन्य उपसमूहको सूचक पनि २ प्रतिशत भन्दा धेरै उकालो लागेको छ । बजार खुलेदेखि नै नेप्से उकालो लागेको थियो ।
२१४ कम्पनीको सेयर मूल्य बढेकामा एक दर्जभन्दा बढी कम्पनीको मूल्य सर्किट लागेर उकालो लागेको छ । सर्किट लागेकामध्ये ९ वटा जलविद्युत कम्पनी हुन् । ८ अर्ब २ करोड रुपैयाँको सेयर कारोबारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । यो कम्पनीको सबैभन्दा धेरै २८ करोड ३१ लाख रुपैयाँको सेयर किनबेच भएको हो ।
यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २३ करोड २६ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको २१ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ । नेप्से सूचक र कारोबार रकममा वृद्धिलाई विश्लेषकहरुले लगानीकर्तामा कन्फिडेन्स बढेको रुपमा लिएका छन् ।
बैंकले ब्याजदर घटाएपछि लगानीकर्तामा कन्फिडेन्स बढेको विश्लेषण गरिएको छ । यस्तै लगानीका अन्य क्षेत्र त्यति चलायमान नभएकाले लगानीकर्ता सेयर बजारमा सक्रिय हुँदा बजार बढेको पनि विश्लेषकहरुले बताएका छन् ।