१४ माघ, एजेन्सी ।
बार्सिलोनाले ला लिगामा अर्को हार बेहोरेको छ । शनिबार भिल्लारियलले बार्सिलोनालाई ५–३ ले हराएसंगै उसले तेस्रो हार व्योहोरेको हो । खेलको ४१ औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लारियललाई सुरुवाती अग्रता दिलाएका थिए । ५४औं मिनेटमा इलियास अखोमाचले गोल गर्दै भिल्लारियलको अग्रता दोब्बर बनाएका थिए ।
२–० ले पछि परेको अवस्थाबाट खेलमा फर्केको बार्सिलोनाले एक समय ३–२ को अग्रता समेत लिएको थियो । तर त्यसलाई जोगाउन सकेन । ६० औं मिनेटमा बार्सिलोनाका लागि इल्के गुन्डोगनले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । ६८औं मिनेटमा पेड्रीले गोल गरेपछि खेलमा २–२ गोलको बराबरी भयो ।
खेलको ७१ औं मिनेटमा भिल्लारियलका इरिक बेल्लीले आत्मघाती गोल गरेपछि बार्सिलोनाले ३–२ को अग्रता लिएको थियो । तर खेलको ८४औं मिनेटमा भिल्लारियलका लागि गोनकालो गिउडेसले बराबरी गोल फर्काए। इन्जुरी समयको नवौं मिनेटमा एलेक्सजेन्डर सोर्लोथले र १२ औं मिनेटमा जोसे लुइस मोरालेसले गोल गरेपछि खेल भिल्लारियलले ५–३ ले जित्यो ।
ला लिगामा सिजनको तेस्रो हार बेहोरेको बार्सिलोना २१ खेलबाट ४४ अंकका साथ लिगको तेस्रो स्थानमा छ । शीर्षस्थानको रियल म्याड्रिड भन्दा बार्सिलोना १० अंकले पछाडि छ । दोस्रो स्थानमा रहेको जिरोनाको समान २१ खेलमा ५२ अंक छ ।
शनिबार नै भएको अर्को खेलमा लास पालमासविरुद्ध जित निकाल्दै रियल म्याड्रिड तालिकाको शीर्षस्थानमा उक्लिएको हो । रियलले २–१ को पुनरागमन जित निकाल्दै पहिलो स्थानमा उक्लिएको हो । रियलको जितमा भिनिसियस जुनियर र औरेलिन चुवामेनीले गोल गरे । पालमासको लागि जाभियर मुनोजले गोल गरे ।