२२ फागुन, एजेन्सी ।
अमेरिकाको आगामी राष्ट्रपतिको निर्वाचनमा बलिया प्रतिस्पर्धीमा रुपमा हेरिएका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध अमेरिकी सर्वोच्च अदालतले खारेज गरेको छ । डिसेम्बरमा अमेरिकी राज्य कोलोराडोको अदालतले पूर्व राष्ट्रपति ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध लगाएको थियो ।
त्यसो गर्दा, अमेरिकी संविधानको १४ औँ संशोधनलाई सन्दर्भ गरिएको थियो, जस अन्तर्गत सशस्त्र विद्रोहवादीहरूलाई राष्ट्रपति चुनाव लड्न प्रतिबन्ध लगाइएको छ। तर फेब्रुअरी ८ मा भएको सुनुवाइमा सर्वोच्च अदालतका न्यायाधीशहरूले यो कदमलाई शङ्काको दृष्टिले हेरे।
यससँगै उनीहरूले राज्य आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएको आरोप लगाए । अदालतले १४ औँ संशोधनको धारा ३ लागू गर्ने अधिकार कुनै राज्यको हातमा नभएर कंग्रेसको हातमा रहेको बताएको छ । यसपछि सर्वोच्च अदालतले ट्रम्पले चुनाव लड्न सक्ने बताएको छ ।
यस निर्णयको प्रतिक्रिया दिँदै ट्रम्पले यसलाई अमेरिकाको ठूलो जीत भनेका छन् । अब डोनाल्ड ट्रम्पले आज हुने अमेरिकी चुनावको प्राथमिक चरणमा भाग लिन सक्नेछन् । यसै दिन उनी रिपब्लिकन पार्टीको मनोनयनमा आउने पक्का हुन सक्छन् । किनभने कोलोराडोसहित १५ अमेरिकी राज्यले प्राथमिक चरणको मतदान गर्नेछन्।
यसलाई सुपर ट्युजडे भनिन्छ । ७७ वर्षीय डोनाल्ड ट्रम्पले यस चुनावमा आफ्नो एक मात्र प्रतिद्वन्द्वी निक्की हेलीलाई हराएर रिपब्लिकन पार्टीको मनोनयन जित्ने विश्वास गरिएको छ । प्राइमरी अमेरिकी राष्ट्रपति चुनाव प्रक्रियाको चरण हो जसमा दलहरूले मतदान मार्फत आफ्ना उम्मेदवारहरू निर्णय गर्छन्।
यसअघि अमेरिकी राष्ट्रपति उम्मेदवारको दौडमा रहेकी निक्की हेलीले प्राइमरीमा पहिलो जित हासिल गरेकी थिइन । रिपब्लिकन पार्टीको तर्फबाट वाशिङ्टन डीसीमा भएको राष्ट्रपति पदको प्राइमरीमा निक्कीले जित हात पारेकी हुन् । आइतबारको मतदानमा निक्कीको जितले तत्कालका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको विजयी बन्ने सिलसिला रोकिएको छ ।
आज अमेरिकाका १६ राज्यमा प्राइमरी मतदान हुँदैछ । यी मतदानमा ट्रम्पले धेरै प्रतिनिधिहरूको समर्थन जुटाउन सक्छन् । निक्की हेलीले यसअघि केही प्राइमरी हारिसकेकी छिन् । तर पनि उनले उम्मेदवारीको प्रतिस्पर्धा छाडेकी छैनन् ।