२३ फागुन, विराटनगर । झापाको दमकमा भाटभटेनीको २७ औँ स्टोर सञ्चालनमा आएको छ । जिल्लामा यो भाटभटेनीको दोस्रो स्टोर हो ।
बुधबारदेखि दमक –९ चियादोकान चोकमा भाटभटेनी सुपरमार्केटको उक्त स्टोर संचालनमा आएको हो ।
भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले स्टोरको आफै उद्घाटन गरे । एक अर्ब ५० करोड बढी लगानीमा निर्माण गरिएको यो स्टोर कोशी प्रदेशको पाँचौँ स्टोर भएको उनले जानकारी दिए ।
आफ्नै देशमा केही गर्नुपर्छ भनेर आफ्नो सम्पूर्ण ऊर्जा देशमै लगाएको उनको भनाइ छ ।
उपभोक्तालाई बजार मूल्यभन्दा सस्तो एवम् गुणस्तरीय सामग्री एकै ठाउँबाट उपलब्ध गराउने आफूहरूको उद्देश्य रहेको गुरुङले बताए । भाटभटेनी व्यवसाय मात्र नभई यो रोजगारी अभियान पनि हो, उनले भने ।
यो स्टोरले मात्र स्थानीय तीनसय जनालाई प्रत्यक्ष रोजगारी दिएको उनले बताए ।
प्रबन्ध निर्देशक गुरुङले शुभचिन्तक, आम उपभोक्ता महानुभावहरुको मायाको प्रतिफलकै कारण दमकमा पनि भाटभटेनी स्टोर खुल्न सकेको र आजबाट उक्त स्टोरमार्फत सेवाग्राहीलाई विशेष छुटसहित उत्कृष्ट सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेट गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फूटवेर, फूडकोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबालिकाका लागि किड्स जोन तथा स्केटपार्क लगायतका सुविधाहरू छन् ।
केही समयअघिसम्म काठमाडौँ केन्द्रित भाटभटेनीले पछिल्लो समय देशै भरीका मुख्य मुख्य सहरमा आफ्नो आटलेट स्टोर विस्तार गरिरहेको छ ।
उद्घाटन समारोहमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई समेत उपस्थित भएका थिए ।
राईले ३०० भन्दा बढी स्थानीय युवाहरुलाई रोजगारी दिने गरि आजबाट सञ्चालनमा आएको भाटभटेनी सुपरमार्केटको २७ औं स्टोरको डिस्प्ले निकै नै एडभान्स तरिकाले राखिएको पाइएको बताएका छन् ।