२५ फागुन, एजेन्सी ।
तीन वर्षदेखि युक्रेनमा युद्ध लडिरहेको रुसले पछिल्लो समय युक्रेनबाट कडा जवाफी प्रत्याक्रमणको सामना गरिरहेको छ । रुसले दजनौं युक्रेनी क्षेप्यास्त्र र आधुनिक ड्रोनहरु नष्ट गरिसकेको छ । रुस भित्रै उसले मानवीय क्षति समेत व्यहोरिसकेको छ । यस्तो बेला रुसको राजधानी मस्कोमा केही दिन भित्रै अतिवादीको आक्रमण हुने मस्कोस्थित अमेरिकी दूतावासले चेतावनी दिएको छ ।
रुसी विश्व च्यानल आरटीका अनुसार अमेरिकी दूतावासले शुक्रबार यस्तो चेतावनी दिँदै आफ्ना नागरिकहरुलाई मस्कोको भिडभाडमा भेला नहुन आग्रह गरेको छ । दूतावासले आगामी ४८ घण्टाभित्र यस्तो आक्रमण हुने बताएको छ । अमेरिका र रुसबीचको कूटनीतिक तनाव तल्लो तहमा झरेको अवस्थामा यस्तो भएको हो ।
बिहीबार मात्रै रुसले अमेरिकी राजदूत लिनी ट्र्यासीलाई बोलाएर तीन अमेरिकी गैरसरकारी संस्थाको गतिविधिमा बन्द गर्न चेतावनी दिएको भोलीपल्ट यस्तो सूचना सार्वजनिक भएको हो । आगामी हप्ता रुसमा राष्ट्रपतीय चुनाव हुन लागेको समयमा यस्ता सूचना सार्वजनिक भएका हुन् ।
रुसमा यही मार्च १५ देखी १७ सम्म राष्ट्रपतीय चुनाव हुँदैछ । चुनावमा पुटिन स्वतन्त्र उम्मेदवारको रुपमा उठेका छन् । ७१ वर्षका पुटिनले आफ्नो सत्ताधारी दल युनाइटेड रसिया पार्टीकै अनुमोदन अनुसार स्वतन्त्र उम्मेदवार उठ्न लागेका हुन् । उनी रुसका निर्विकल्प उम्मेदवार हुन् । संविधान संशोधन गरेर नै वर्तमान राष्ट्रपति पुटिनले आगामी २०३० सम्म आफू राष्ट्रपति बन्न सक्ने बाटो खोलिसकेका छन् ।