२७ चैत ,काठमाण्डौ ।
नेपाल र वेस्ट इन्डिज ‘ए’बीच नेपालमा हुने पाँच टी–२० प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आईसीसी टी–२० विश्वकपअघि नेपालले वेस्ट इन्डिज एसँग पाँचवटा टी २० शृंखला खेल्ने भएको हो । त्यसका लागि वेस्टइन्डिज पहिलोपटक नेपाल आउँदै छ । उक्त खेलको खेल तालिका वेस्टइन्डिज क्रिकेट बोर्डले सार्वजनिक गरेको हो । जसअनुसार पहिलो खेल अप्रिल २७ मा हुनेछ ।
यसपछि दोस्रो अप्रिल २८, तेस्रो मे १, चौथो मे २ र पाचौँ मे ४ मा हुनेछन् । सबै खेल काठमाडौँस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । खेल नेपाली समयानुसार दिउँसो १ बजे सुरु हुनेछ । ओमानबाट पर्खेपछि नेपालले घरेलु मैदानमा वेस्ट इन्डिज ’ए’सँग टी–२० शृंखला खेल्ने भएको हो । ओमानमा प्रिमियर कप अप्रिल १२ देखि २१ सम्म हुँदैछ ।
उक्त शृंखला खेलेपछि नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका जानेछ । आउँदो जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा टी–२० विश्वकप आयोजना हुँदैछ । नेपाल र वेस्ट इन्डिज पनि यो विश्वकपमा छनोट भएका छन् । २० राष्ट्र सम्मिलित विश्वकपको नेपाल समूह डी मा रहेको छ ।
नेपालसँगै समूहमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ । यसैबीच सोमबार नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आइसीसी टि२० विश्वकपमा प्रयोग गर्ने जर्सी पनि सार्वजनिक भएको छ ।
केल्मीले निर्माण गरेको जर्सीमा विगतभन्दा केही पृथक प्रयोग गरिएको छ । जर्सीको अगाडी काँधमा नेपालको झन्डा छ भने तल्लो भागमा सगरमाथा र गैंडा अंकित गर्ने डिजाइन छ । रातो र निलो रंगसँगै यसपटक पहेंलो रंग पनि जर्सीमा छ । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध हुने टि२० सिरिजमा यो जर्सी प्रयोग गर्नेछ ।