५ वैशाख , काठमाण्डौ ।
नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेका कारण देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ ।
आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको । भोलि कोशी प्रदेशको थोरै स्थानहरु साथै बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैबीच जल तथा मौसम विज्ञान विभागले अब एक सातसम्मको मौसम पूर्वानुमान गर्ने तयारी गरेको छ । विभाग अन्तर्गतको मौसम पूर्वानुमान माहाशाखाले हाल तीन दिनसम्मको मात्रै मौसम पूर्वानुमान गर्दै आएको छ । एक सातासम्मको मौसमी अवस्था जानकारी दिँदा मौसमजन्य विपदका घटना न्यूनीकरणमा सहयोग पुग्ने विभागको भनाइ छ ।
एक सातासम्मको मौसम पूर्वानुमान हुँदा किसानहरुलाई बाली लगाउन र भित्र्याउन सहज हुने अपेक्षा गरिएको छ । विभागका महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले एक सातासम्मको मौसमसम्बन्धी पूर्वानुमान गर्ने गरी छलफल अगाडि बढिरहेको बताएका छन् । यसका लागि मित्र राष्ट्रहरु र अन्य मौसमसम्बन्धी क्षेत्रीय संगठनसँग सहकार्यका लागि छलफल भइरहेको उनले बताएका छन् ।