१९ वैशाख ,काठमाण्डौ।
पाँच खेलको मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गतको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित भएको छ । २ सय २८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ५१ रन मात्र बनाउन सक्यो । जितसँगै शृङ्खलामा वेस्ट इन्डिजले २–१ को अग्रता लिएको छ । पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो भने दोस्रो खेलमा भने घरेलु टोली १० रनले स्तब्ध बन्न पुगेको थियो ।
नेपालका लागि लोकेश बम र करण केसीले सर्वाधिक २८–२८ रन बनाए । त्यस्तै, कुशल मल्लले २० रन बनाउँदा विनोद भण्डारीले १९ तथा अनिल साहले १४ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय २७ रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि ओपनर जोनसन चार्सले शानदार शतक बनाए । उनले ६१ बलमा ११९ रन बनाए । त्यस्तै, आन्द्रे फ्लेचरले पनि अर्धशतक बनाए । उनले ३३ बलमा ५३ रन हिर्काए । यस क्रममा उनले ४ चौका र ३ छक्का हिर्काए । त्यस्तै फाबियन एलनले ९ बलमा १९ रन तथा एलिक अथान्जेले १० बलमा १७ रनको योगदान दिए ।
नेपालका लागि करन केसी र सागर ढकालले एक–एक विकेट लिए । जितसँगै शृङ्खलामा वेस्ट इन्डिजले २–१ को अग्रता लिएको छ । पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो । दोस्रो खेलमा भने घरेलु टोली १० रनले स्तब्ध बन्न पुग्यो । आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपाल र वेस्ट इन्डिजबिच यो अभ्यास खेल खेलिएको हो ।
वेस्ट इन्डिजको कुनै पनि टोली नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो । नेपालसँगै वेस्ट इन्डिजसले पनि आगामी टी–२० विश्वकप खेल्दैछ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । आगामी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ ।
उक्त समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । वेस्ट इन्डिज भने विश्वकपको समूह ‘सी’ मा परेको छ । उक्त समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगान्डा रहेका छन् ।