२१ वैशाख,एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज पाँचपटकको च्याम्पियन मुम्बई इन्डियन्सले बलियो प्रतिद्वन्द्वी कोलकाता नाइट राइडर्सको सामना गर्दैछ । खेल मुम्बईस्थित वानखेड स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । यो मुम्बइ इन्डियन्सको घरेलु मैदान पनि हो । जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ५१ औँ खेल हो ।
यो खेलमा पराजित भएमा मुम्बई उपाधि होडबाट बाहिरिने छ । जारी सिजनको आईपीएलमा कोलकाताले १० औं र मुम्बईले ११औँ खेल खेल्न लागेका हुन् । यो सिजन कोलकाता नाइट राइडर्सले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ भने मुम्बई इन्डियन्सको प्रदर्शन अत्यन्तै निराशाजनक देखिएको छ ।
कोलकाताले यसअघि खेलिएका नौमध्ये ६ खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । कोलकाता १२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । तालिकाको पहिलो स्थानमा भने १६ अंकसहित राजस्थान रोयल्स आसिन छ । मुम्बईले यसअघि खेलिएको १० मध्ये केवल तीन खेलमा जित र सात खेलमा हारको नतिजा निकालेको छ ।
मुम्बई ६ अंकसहित तालिकाको नवौँ स्थानमा छ । तालिकाको सबैभन्दा तल अर्थात १०औँ स्थानमा रोयल च्यालेन्जर्स बैंगलुरु रहेको छ । मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सले जारी सिजनको आईपीएलमा खेल्न लागेको यो पहिलो खेल हो । आईपीएलमा हालसम्म मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबिच कुल ३२ खेल खेलिएको छ ।
त्यसमध्ये २३ खेलमा मुम्बईले कोलकातालाई हराएको छ । बाँकी नौ खेलमा भने कोलकाताले मुम्बईलाई हराएको छ । मुम्बईलाई चेन्नईसँगसँगै सार्वाधिक उपाधि जित्ने टिमपनि हो । तर इन्डियन प्रिमियर लिगको १७औँ संस्करणमा भने कोलकाता नाइट राइडर्सले भने उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।