२१ जेठ, काठमाण्डौ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सोमबार मेयर महर्जनसहित १४ जनाविरुद्ध १ अर्ब बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको हो । उनीहरूमाथि ढुंगाखानीमा अनियमितता गरेको आरोप छ ।
आयोगले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भनी १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । जसमा ४ कर्मचारी र ९ जना क्रसर सञ्चालक पनि रहेका छन् । सोही आरोपमा सोमबार नै ५ वटा छुट्टाछुट्टै मुद्दा पेश गरेको छ ।
आर्थिक वर्ष २०७५÷०७६ देखि ०७९÷०८० को अवधिमा खानीजन्य ढुंगागिट्टी र बालुवाको टेण्डर लगाउँदा सरकारी दर भन्दा कमगरी एक अर्ब चार करोड ८७ लाख ४५ हजार २ सय ८७ रुपैयाँ हानी नोक्सानी पु¥याएको अभियोग उनीहरुविरुद्ध मुद्दा दायर भएको हो । महर्जनसहित तत्कालीन प्रशासकीय अधिकृत, अन्य जनप्रतिनिधि र ठेकेदारसमेतलाई अख्तियारले प्रतिवादी बनाएको हो ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले राजस्व चुवाहट गरी खानीजन्य पदार्थका रुपमा रहेका ढुंगागिट्टी बालुवासहितका बस्तु सरकारी दररेट कममा ठेक्का लगाइ हिनामिना गरेको कसुरमा अख्तियारले मुद्दा दायर गरेको बताए । प्रतिवादी बनाइएका मेयर महर्जन नेपाली कांग्रेसबाट निर्वाचित हुन् । उनी २०७४ को स्थानीय तहको निर्वाचनमा पनि सोही नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।