१७ असार, काठमाण्डौ ।
तारा एयरको जहाज सम्पर्कविहीन भयो भन्ने हल्ला अफवाह भएको पुष्टि भएको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भन्ने समाचार तथा सूचनाहरू सामाजिक सञ्जालमा फिँजिएका थिए । तर, सोमबार कुनै जहाज नै नहराएको पाइएको छ । तारा एयरसँग हाल तीन वटा जहाज रहेका छन् ।
दुई वटा जहाज काठमाडौँमा नै रहेको जनाएको कम्पनीले सोमबार एउटा जहाजले नेपालगन्ज–सिमिकोट उडान भरेको जानकारी दिएको छ । दिउँसो १ः २७ बजे नेपालगन्ज अवतरण (ल्यान्ड) गरेको जहाज अहिले सोही विमानस्थलमा पार्किङमा छ । यता काठमाडौँमा रहेका दुईवटा जहाजमध्ये एउटा ग्राउण्डेड रहेको छ भने अर्को लुक्लाका लागि उडान तालिका रहेकोमा खराब मौसमका कारण उड्न नसकेर त्रिभुवन विमानस्थलमा नै पार्किङमा रहेको छ ।
तर, कम्पनीलाई जोडेर पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको भन्ने हल्ला एकाएक फैलिएपछि कम्पनीले विज्ञप्ति नै जारी गरेको छ । तारा एयरले कुनै पनि जहाज नउडेको र नहराएको जानकारी दिँदै कम्पनीबारे फैलाइएको अफवाहप्रति सचेत हुन सबैलाई आग्रह गरेकोछ ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भन्ने समाचार र पोष्टहरु गलत र भ्रमपूर्ण रहेको बताएको छ । कम्पनीले यस्तो बदनियत समाचार संप्रेषण गर्ने र सामाजिक संजालमा राख्नेविरुद्ध कानूनी कारवाही अघि बढाउने समेत बताएको छ।