२३ असार, एजेन्सी ।
इजरायलले गाजामा युद्ध सुरू गरेको आइतबार १० औँ महिना सुरू भएको छ । हमासले दक्षिणी इजरायलमा गत वर्षको अक्टोबर ८ मा गरेको हमलाको बदलामा इजरायलले युद्ध थालेको थियो । यो अवधिमा प्यालेस्टिनी भूमिमा ३८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । युद्धका कारण लाखौँ मानिस विस्थापित भएका छन् ।
हमासले अक्टोबर ८ मा गरेको आक्रमणमा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो भने लडाकू समूहले २५० जना बन्धक बनाएको थियो । युद्ध विराम र कैदी आदान प्रदान सम्झौतापछि हमासले १०० भन्दा बढी व्यक्तिलाई रिहा गरेका थिए भने यसको तेब्बर सङ्ख्यामा प्यालेष्टिनी बन्दी रिहा भएका थिए । हिंसा रोक्नको लागि नयाँ कुटनीतिक प्रयासहरू जारी छन् ।
इजरायलले कतारको दोहामा हालै सुरु भएको युद्धविराम वार्तालाई निरन्तरता दिन आगामी दिनमा एक प्रतिनिधिमण्डल पठाउने बताएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका प्रवक्ताले युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता कसरी गर्ने भन्ने विषयमा हमाससँग ‘भिन्नता’ कायमै रहेको बताएका छन् । “वार्तालाई निरन्तरता दिन अर्को हप्ता इजरायली वार्ताकार दोहा जाने सहमति भएको छ ।
इजरायली राजनीतिक पार्टीहरूबीच युद्धलाई हेर्ने सम्बन्धमा अझै पनि मतभिन्नता छ,” प्रवक्ताले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । कतार र इजिप्टसँगै युद्धविराम वार्ताको मध्यस्थता गरेको संयुक्त राज्य अमेरिकाले दुवै पक्षका लागि ‘निकै महत्वपूर्ण खुलापन’ भएको भन्दै सम्झौताको सम्भावनाबारे कुरा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत मे महिनामा युद्धविराम सम्झौताको मार्ग प्रशस्त गर्ने घोषणा गरेका थिए ।
यसमा प्रारम्भिक छ हप्ताको युद्धविराम, गाजाको जनसङ्ख्या केन्द्रबाट इजरायली सेना फिर्ता र प्यालेस्टाइनी लडाकूद्वारा बन्धक बनाइएका बन्धकहरूलाई मुक्त गर्नु समावेश थियो । वार्ता पछि रोकियो, तर एक अमेरिकी अधिकारीले बिहीबार दिएको जानकारी अनुसार हमासको नयाँ प्रस्तावले प्रक्रियालाई अगाडि बढाउँछ र सम्झौतालाई बन्द गर्ने आधार प्रदान गर्न सक्छ ।
यसैबीच गाजाको एक विद्यालयमा इजरायलले गरेको हवाई हमलामा कम्तीमा १६ जनाको मृत्यु भएको प्यालेस्टाइन अधिकारीहरूले बताएका छन् । घटनामा दर्जनौँ घाइते भएका छन् । सो भवनमा मध्य गाजाको नुसरत शरणार्थी शिविरका हजारौँ विस्थापित मानिस आश्रय लिइरहेको हमासको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।
इजरायली डिफेन्स फोर्स (आइडीएफ)ले अल जाओउनी विद्यालयका संरचनामा आतंककारी गतिविधि भइरहेकोले आक्रमण गरिएको जनाएको छ । अलग्गै अर्को आक्रमणमा शिविरका १० जनाको मृत्यु भएकमे छ । भिडियोमा देखाइएअनुसार वयस्क र केटाकेटीहरू धुवाँले भरिएको सडकमा रुँदै गरेको देखिएको छ ।
उनीहरू घाइते अवस्थामा कुदिरहेको समेत देखिएको छ । प्रत्यक्षदर्शीका अनुसार आक्रमण भवनको माथिल्लो भागमा केन्द्रित थियो । भवन व्यस्त बजारको छेउमा छ । सो भवन सात हजार मानिसले आश्रयको रूपमा प्रयोग गरिरहेका थिए । भवनमा आक्रमण हुँदा कुरान पढिरहेका केही केटाकेटी पनि मारिएको एक महिलालाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।