१३ भदौ , विराटनगर ।
नेपाली कांग्रेसमा १५ औं महाधिवेशनको मिति टुंगो लाग्नुअघि नै यतिबेला सभापति शेरबहादुर देउवा भर्सेस महामन्त्री द्वय को स्थिति देखिएको छ । महामन्त्री गगनकुमार थापा र महामन्त्री विश्वप्रकाश शर्माको चुनावी गठबन्धन नगर्ने, १५ औं महाधिवेशन २०८२ मंसिरभित्र हुने सुनिश्चित गर्नुपर्ने र राष्ट्रपतिदेखि सांसद समेतका लागि कार्यकाल तोक्ने ‘एक्जिट पोलिसी’को प्रस्तावले कांग्रेसमा विवाद चलिरहेको छ ।
सभापतिसमेतको असहमति रहेको यी प्रस्तावमा शर्मा र थापा पछाडी फर्किने सम्भावना नदेखिएपछि देउवा दबावमा परेका छन् । यसैकालागि उनले पदाधिकारी र पूर्व पदाधिकारीको बैठकसमेत बोलाएका छन् । आगामी शनिबार विहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको छ ।
१६ भदौमा बस्ने केन्द्रीय समिति अघि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति खोज्न देउवाले शीर्ष नेताको बैठक बोलाएका हुन् । सभापति देउवाले मंगलबार र आज पनि दुई महामन्त्रीको प्रस्तावका लागि उपसभापति र महामन्त्रीसँग छलफल गरे । तर दुई दिनको बैठकमा सहमति जुट्न सकेको छैन् । चुनावी तालमेल नगर्ने, एक्जिट पोलिसी र महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न सकेको छैन ।
‘मुख्यत तीन एजेण्डामा दुई दिनको छलफलमा भएको छ । दुई महामन्त्री पछि नहटेपछि छलफल विना निष्कर्ष टुंगिएजस्तै छ ।’ शीर्ष तहका एक नेताले भनेका छन् । मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने सहमति उन्मुख भएको दाबी गरेका छन् । एक्जिट पोलिसी, महाधिवेशन कार्यतालिका लगायतमा सहमति नजिक पुगेको उनले दाबी गरेका छन् । तर संस्थापन पक्षले चुनावी गठबन्धन रणनीतिक हुने भएकाले अहिले घोषणा गर्नु नपर्ने र एक्जिट पोलिसीबारे अहिले छलफल आवश्यक नभएको तर्क गर्दै आइरहेको छ ।
बैठकमा संस्थापन पक्षका नेताहरुले विरोध जनाएपछि सभापति देउवाले महामन्त्रीद्वयको प्रतिवेदनमा मध्यमार्गी बाटो खोजिरहेका छन् । तर, दुवै पक्षले आआफ्नो अडान नछाड्दा सहमति जुट्न सकेको छैन् । यसअघि पनि देउवाले यो बिषयमा महामन्त्रीद्वयसँगै उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ पनि सहभागी थिए । प्रतिवेदनमा छलफल नजुटेपछि केन्द्रीय समितिको बैठक १६ गतेलाई राखिएको छ ।
यसबीच आगामी महाधिवेशनलाई लिएर पनि नेताहरु आआफ्नो तयारीमा जुटेका छन् । कांग्रेसको १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार घोषणा गरिसकेका नेतामा अहिलेसम्म शेखर कोइराला मात्र देखिएका छन् । १४औँ महाधिवेशनमा ’एकपटक यसैपटक’ नारा लिएर सभापति लडेका उनले एकपटक सभापति बन्न दोस्रोपटक आकांक्षा देखाउने बताइसकेका छन् ।
कांग्रेसमा सभापति हुने भनेर सार्वजनिक रूपमा नभने पनि अन्य नेताहरु आन्तरिक तयारीमा छन् । जसमा संस्थापन समूहबाट उपसभापति पूर्णबहादुर खड्का र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आन्तरिक तयारी गरिरहेका छन् । १३औँ महाधिवेशनमा सभापतिको उम्मेदवार भएर पराजय व्यहोरेका सिटौलालाई गुटभित्रैबाट सभापतिको उम्मेदवार बन्न र सभापति शेरबहादुर देउवालाई रिझाउन दबाब छ ।
१४औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका प्रकाशमान सिंह र विमलेन्द्र निधि संस्थापन समूहमा भए पनि महाधिवेशनकेन्द्रित गतिविधिमा कम देखिएका छन् । सिंह उपप्रधान तथा शहरी विकासमन्त्री बनेर मन्त्रालयको काममा व्यस्त छन् । निधि संसदीय भूमिकामा व्यस्त छन् भने मधेशकेन्द्रित भएर काम गरिरहेका छन् ।संगठनको पकड र गतिविधि हेर्दा उनीहरू देउवाको संस्थापन सहयोग र स्वीकृति पाए मात्र सभापति हुने देखिन्छ । अहिले सभापति देउवाले केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढी शक्ति होल्ड गर्छन् । गुटबाट पार्टीमा बलियो प्रभाव पारेका देउवाको समर्थनले पार्टीको भावी नेतृत्वमा प्रभाव पार्छ । त्यसैले देउवाले जसलाई धाप मार्छन्, उसैले पार्टीको नेतृत्व पाउने सम्भावना बलियो छ ।
उनको समर्थनबिना सभापति बन्न पापड बेल्नुपर्ने अहिलेसम्मको स्थिति छ । १४औँ महाधिवेशनमा सभापतिको लडाइँमा दोस्रो चरणमा सिंह र निधि दुवैले देउवालाई सघाएका थिए । देउवाले त्यसको गुन सिंहलाई मन्त्रिपरिषद्मा पठाएर तिरे भने अर्कोपटक पालो निधिको आउने देखिन्छ ।
नेतृत्वमा आउन भने दुवैले देउवालाई रिझाउनुपर्नेछ । उता देउवाले उत्तराधिकारी बनाउन बीपीपुत्र शशांक कोइरालालाई उपयुक्त पात्रको रूपमा देखेको कतिपय नेताहरू बताउँछन् । कांग्रेसका संस्थापक बीपी कोइरालाको छोरा भएकै कारण कांग्रेसमा शशांकको आफ्नै स्थान बलियो रहेको र उनलाई बनाउन सकिए अहिले संस्थापनइतर समूहमा रहेको कोइराला समूहको मत पनि आउने बुझाइ संस्थापन पक्षका नेताहरूको छ ।
शशांक राजनीतिमा आफैँ विचार लिएर अडिगभन्दा पनि उदारभाव भएका नेताको रूपमा चिनिन्छन् । उनको उदारभावलाई प्रयोग गर्न सकिने र सभापति पदमा राखेर पार्टीमा आरजुलाई भावी नेतृत्वको रूपमा अघि बढाउन र पार्टी पनि चलाउन सकिने बुझाइ संस्थापन समूहमा छ ।
शशांक सभापतिको आकांक्षी त छन् तर उनले देउवाको साथको अपेक्षा गरिरहेका छन् । उनले १४औँ महाधिवेशनमा शेखर कोइरालालाई सघाएनन् । खुलेर असहयोग पनि गरेनन् । देउवालाई पनि शशांकलाई अगाडि सार्दा कुनै समस्या हुँदैन । किनकि शशांकलाई सभापति बनाउँदा उनलाई सभापति भनेर अन्य पदाधिकारीमा दाबी गर्नेहरू छैनन् । यस्तोमा सभापति शशांकलाई दिए देउवाले अन्य पदाधिकारीहरू आफ्ना विश्वासपात्रहरूलाई बनाउन सक्छन् । यदि आरजुलाई पदाधिकारीमा स्थान दिने हो भने देउवासँग सभापतिको उम्मेदवारी दिने बताइसकेका शेखर कोइरालालाई समर्थन गर्ने पनि विकल्प छ । संस्थापनइतर समूहको नेता भएर सभापतिसँग मिल्न खोजेको भाष्य बनेको भन्दै शेखर त्यस्तो नभएको प्रस्टीकरण दिइरहेका छन् ।
पज…………
त्यस्तै, देउवाले महामन्त्री गगन थापालाई मनाएर आफ्नो समूहमा ल्याउन सक्ने नेताहरू बताउँछन् । पूर्णबहादुर खड्काको नेतृत्व होस् या शशांकको, महामन्त्री थापालाई उपसभापतिमा राख्न सकियो भने समूह बलियो हुने र त्यसमा आरजुलाई सेटल गराउन र समूह बलियो राखिराख्न पनि सकिने बुझाइ देउवाको छ । १४औँ महाधिवेशनमा देउवाले पदाधिकारीमा सोचेको नतिजा निकाल्न सकेका थिएनन्
यसो गर्न सकियो भने आफ्नै समूहले पार्टी चलाउने र पदाधिकारीमा बलियो पकड रहने तथा केन्द्रीय समितिमा पनि सोहीअनुसार प्रभाव रहने बुझाइ देउवाको छ । तर गगन थापा पार्टीको शीर्ष स्थानमा उक्लिए पार्टीभित्र सत्ताको आस गरेका धेरै नेताहरूले भविष्य देख्ने छैनन् । यस्तो अवस्थामा थापाले अवसर पाउने सम्भावना कम रहन्छ ।
थापा भने सभापतिको उम्मेदवार बन्ने तयारीमा छन् । पार्टी गतिविधिमा योजनाबद्ध ढंगले अघि बढ्न चाहेका उनले आफूलाई शेखर समूहमा रहेको बताउँदै आएका छन् । यता देउवाले कसलाई समर्थन गर्ने भन्ने कुरा आरजुमा पनि भर पर्छ । देउवाले आरजुलाई सिधै नेतृत्वमा स्थापित गराउनेभन्दा पनि दोस्रो तहमा रहेर एक कार्यकाल बिताएपछि नेतृत्वमा स्थापित गराउन चाहेका छन् ।
त्यसैले उपयुक्त पात्र नेतृत्वमा आओस् भन्ने चाहेका देउवालाई आरजुको रोजाइले पनि निर्णय दिनुपर्ने हुन्छ । परराष्ट्रमन्त्री भएपछि उनले अन्तर्राष्ट्रिय समर्थन जुटाउन व्यवस्थापन गरिरहेको पछिल्लो भारत भ्रमणले पनि देखाउँछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि छिट्टै महिला प्रधानमन्त्री बनाउने भन्ने विषयले आरजुको चर्चा प्रधानमन्त्री बन्ने पो हो कि भनेर हुन थालेको छ ।
यसबारे आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।