१६ भदौ, विराटनगर ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको एन्फा महिला लिगमा कोशी प्रदेशले सानदार सुरुआत गरेको छ ।
आइतबार भएको उद्घाटन खेलमा कोशीले स्याङ्जाको वालिङ नगरपालिकामाथि ४-० गोलको जित निकालेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा कोशीलाई जिताउन समीक्षा मगरले दुई गोल गरिन् भने सन्जुमाया तामाङले एक गोल गर्दा वालिङकी यमकुमार विकले एक गोल उपहार दिएकी थिइन् ।
१०औं मिनेटमै सन्जुको गोलमार्फत कोशीले सुरुआती अग्रता बनाएको थियो । तर, निरन्तर आक्रमण बुनेपनि कोशीले पहिलो हाफको अरु गोल थप्न सकेन ।
दोस्रो हाफ सुरु भएको छैटौं मिनेटमै समीक्षाले अग्रता दोब्बर बनाइन्। त्यसको आठ मिनेटपछि उनले व्यक्तित दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन् । ६९औं मिनेटमा बल बचाउने क्रममा यमकुमारीले आफ्नै पोस्टको जाली चुमाउँदा वालिङ फराकिलो हार बेहोर्न बाध्य भयो।
एन्फा महिला लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता छ । विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, बागमती युथ क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेश रहेका छन् ।
सिंगल राउन्ड रोबिनको आधारमा पहिलो चरणमा ४५ खेल हुनेछन् । सिंगल राउन्ड रोबिनबाट शीर्ष पाँच टोलीबीच पुनः डबल राउन्ड रोबिनका आधारमा सुपर लिग हुनेछ । सुपर लिगमा २० खेल हुनेछन् ।
सुपर लिगमा उत्कृष्ट चार टोलीबीच क्वालिफायर, इलिमिनेटर र फाइनल खेल गरी कुल ६९ खेल हुनेछ । दुई करोड २४ लाख ६८ हजार रुपैयाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।
यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।