२३ भदौ, विराटनगर ।
चौथौ संस्करणको युरोपियन नेसन्स लिगअन्तर्गत जर्मनीले सानदार सुरुआत गरेको छ । शनिबार राति भएको समूह चरणको खेलमा जर्मनीले हंगेरीलाई ५–० गोलान्तरले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा जर्मनीलाई जिताउन निकोलस फ्युलक्रुग, जमाल मुसियाला, फ्लोरियन विर्ट्ज, अलेक्जेन्डर पावलोभिच र काई हाभर्ट्जले एक-एक गोल गरे । पहिलो हाफमा १-० गोलको अग्रता बनाएको जर्मनीले दोस्रो हाफमा चार गोल थपेको थियो ।
खेलको २७ औं मिनेटमा मिडफिल्डर मुसियालाको पासमा फ्युलक्रुगले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ५८ औं मिनेटमा मुसियालाले गोल गर्दै अग्रता दोब्बर बनाए ।
विर्ट्जले ६६औं मिनेटमा मुसियालाको पासमा गोल गरेका थिए । मुसियालाको पासमा ७७ औं मिनेटमा पावलोभिचले गोल गर्दै जर्मनीलाई ४–० को अवस्थामा पुर्याए ।८१औं मिनेटमा हाभर्ट्जले पेनाल्टीमार्फत गोल जर्मनीलाई सहज जित दिलाए । खेलको म्यान अफ द म्याच मुसियाला बने ।
जुलाईमा घरेलु भूमिमा युरो कपमा क्वार्टरफाइनलमा पुगेको जर्मनी थोमस मुलर, टोनी क्रुस र म्यानुअल नुएरको सन्न्यासपछि पहिलोपल्ट मैदान उत्रिएको हो । हंगेरीविरुद्धको खेलमा सन् २०१४ को विश्वकप विजेता कोही पनि खेलाडी थिएनन् ।