२३ भदौ, पोखरा ।
कास्कीको पोखरा महानगरपालिकाका दुई इन्जिनियरलाई विशेष अदालतले आठ महिना कैद र जनही एक लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । घुससहित पक्राउ परेका पोखराका इन्जिनियर शिवप्रसाद बराल र सबइन्जिनियर उषाकिरण रोकायालाई शुक्रबार दोषी ठहर गरेको हो ।
विशेष अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र रितेन्द्र थापाको संयुक्त इजलासले दुई इन्जिनियरसहित तीन जना दोषी ठहर गरेको हो । अब, बराल र रोकायालाई जनही एक लाख ७५ हजार रुपियाँ जरिवाना र आठ महिना कैद हुने छ ।
घरको नक्सापास प्रमाणपत्र दिने क्रममा घुससहित पक्राउ परेका इन्जिनियर बराल, सबइन्जिनियर रोकाया र बिचौलिया सुरज कुँवर दोषी ठहर भएका हुन् ।
घुस दिन सघाउने कुँवरलाई ८७ हजार पाँच सय जरिवाना र चार महिना कैद हुने फैसला भएको छ । बराल र रोकाया दुवै पोखरा महानगरको नक्सा शाखाका कार्यरत थिए ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले बराललाई गएको चैत २७ गते र रोकायालाई चैत २८ गते पक्राउ गरेको थियो । अख्तियारले अनुसन्धानपछि गत वैशाख २० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अनुसन्धानका क्रममा घुसबापतको दुई लाख रुपियाँ रकम इन्जिनियर बरालको खातामा गएको देखिएको छ ।
त्यो रकम जफत गरी उजुरीकर्तालाई फिर्ता गर्न आदेश भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १० मा बनेको एक घर निर्माण सम्पन्न भएको प्रमाणपत्र दिन इन्जिनियर बरालकै नेतृत्वमा रोकाया र सुरजले घुस लिएका थिए । दुई लाख रुपैयाँ लिइसकेर पछि थप डेढ लाख रुपैयाँ लिने क्रममा बराल र रोकायालाई अख्तियारले पक्राउ गरेको थियो ।