२१ असोज , एजेन्सी ।
दुई छिमेकी मुलुक भारत र पाकिस्तानमा ठूला दुर्घटना हुँदा मानविय क्षतिसमेत भएको छ । भारतमा हवाई प्रदर्शनीका क्रममा र आगलागी हुँदा तथा पाकिस्तानमा विस्फोट हुँदा हताहती भएको छ । भारतमा हवाई प्रदर्शनीका क्रममा चारजनाको मृत्यु भएको हो ।
चेन्नईका रहेको समुद्रको तटीय क्षेत्र मरीनामा आयोजित हवाई प्रदर्शनीका क्रममा चार जनाको ज्यान गएको हो । भारतीय वायुसेनाको ९२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना भएको हवाई प्रदर्शनी हेर्न लाखौँ मानिस आएका बेला धेरै भिडभाडका कारण उनीहरुको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
लामो समयसम्म गर्मीमा बसेको र तातो लहरका कारण डिहाइड्रेसन अर्थात् शरीरमा पानीको कमीका कारण अरु २ सयभन्दा धेरै मानिस बेहोस भएका थिए । ९० जनाभन्दा धेरै अस्पतालमा भर्ना भएका खबरमा उल्लेख छ ।
तमिलनाडुका विपक्षी नेताले यस घटनाको लागि सरकारको आलोचना गरेका छन् । यस्तै दक्षिणपश्चिमी राज्य महाराष्ट्रको मुम्बई सहरमा आइतबार एक भवनमा आगलागी हुँदा दुई बालबालिका सहित कम्तीमा सात जनाको मृत्यु भएको छ ।
अन्य केही घाइते भएका छन् । देशको आर्थिक राजधानी मुम्बईको चेम्बुर क्षेत्रमा आज बिहान आगलागी भएको हो । मृतक सबै एकै परिवारका सदस्य थिए । भुइँ तल्लामा पसल र पहिलो तल्लामा आवासीय एकाइ रहेको दुई तल्ले भवनमा आइतबार आगलागी भएको हो ।
प्रहरीका अनुसार घटना हुँदा मृतकहरु सुतिरहेका थिए । उता छिमेकी मुलुक पाकिस्तानको कराचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा परेर दुई चिनियाँ नागरिकको मृत्यु भएको छ ।
पाकिस्तानमा रहेको चिनियाँ राजदूतावासका अनुसार सिन्ध प्रान्तमा कार्यरत चिनियाँ इन्जिनियरहरूको कारकेडलाई निशाना बनाएर विस्फोट गराइएको बताएको छ । दूतावासका अनुसार विस्फोटमा परेर थुप्रै पाकिस्तानी नागरिकको मृत्यु हुनका साथै घाइते भएका छन् ।
घटना स्थानीय समयअनुसार आइतबार राति ११ बजे घटेको थियो । घटनामा मृत्यु हुनेको यकिन सङ्ख्या सार्वजनिक भएको छैन । घटनामा अन्य १० जना गम्भिर घाइते भएको बताइएको छ ।
पछिल्लो समय चिनियाँ नागरिकमाथि आक्रमण गर्दै आएको पृथकतावादी बलोचिस्तान लिबरेसन आर्मी (बीएलए) ले पछिल्लो घटनाको जिम्मेवारी लिएको छ । सोमबार जारी विज्ञप्तिमा समूहले चिनियाँ इन्जिनियर र लगानीकर्ताको कारकेडलाई निशाना बनाएको बताएको छ ।
चिनियाँ दूतावासका अनुसार चिनियाँ लगानीको पोर्ट कासिम पावर जेनरेसन कम्पनी लिमिटेडका इन्जिनियरहरुलाई निशाना बनाइएको थियो । कम्पनीले कराची नजिकै दुई कोइलाको पावर प्लान्ट बनाउने लक्ष्य लिएको छ ।