१ कार्तिक , एजेन्सी ।
केही दिनअघि भारतबाट विभिन्न मुलुकका लागि उडान भरेका वा भर्न लागेका भारतीय एयरलाइन्सहरुमा बम र आतंकबादीहरु रहेको हल्ला फैलिएपछि भारतभर आतंक मच्चिएको थियो । उडान भरिसकेका विमानहरु डाइभर्ट गरिएका थिएभने कयौं उडानहरु डिले वा स्थगित गरिएका थिए ।
एकैदिन ६ वटा विमानमा बम रहेको भन्ने हल्लाले भारतको सिंगो हवाई उडान नै प्रभावित भएको थियो । बाह्यमात्रै होइन आन्तरिक उडानहरुमा समेत बमको धम्की दिइएको थियो । सोमबारदेखि लगातार यस्ता धम्कीहरु आइरहेका थिए ।
त्यसपछि सुरक्षाकर्मीहरु ब्यापक परिचालन गरिए । छानविन तिव्र पारिएको थियो । तर यी धम्कीहरुका पछि ठूलो आपराधिक समूहहरु नभएर केबल व्यक्तिगत बदला लिनका लागि रचएिको खेल वा अफवा मात्रै भएको खुलेको छ । जसको पछाडी एक १७ वर्षे किशोरको हात थियो ।
ति किशोर अहिले प्रहरीको फन्दामा परेका छन् । यो घटनामा मुम्बई प्रहरीले छत्तिसगढका एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत भारतीय विमानहरूमा बम रहेको धम्कीपूर्ण सन्देश साझा गरेको आरोपमा ती किशोर पक्राउ परेका हुन् ।
प्रहरीले बुधबार दिएको जानकारी अनुसार धम्कीपूर्ण सन्देश प्रवाह गर्न प्रयोग भएको एक्सको ह्यान्डललाई पछ्याउँदा ती किशोरसम्म प्रहरी पुगेको थियो । अनुसन्धानपछि प्रहरीले किशोरका पितालाई उनलाई मुम्बई ल्याउन भनेको थियो ।
त्यसपछि उनलाई डोंग्रीको जुभिनायल जस्टिस बोर्डसामु प्रस्तुत गरिएको थियो । उनलाई अक्टोबर २४ सम्म हिरासतमा पठाइएको छ । उनले यस्तो गर्नुको कारणबारे खुलासा गर्दै जोन ८ का डेप्युटी कमिस्नर अफ पुलिस मनिष कल्वानियाले भने, ‘प्रमुख कारण पैसाको लेनदेन देखिएको छ । ती किशोरले फेक आईडी प्रयोग गरेर उनीसँग आर्थिक विवाद रहेका फजलुद्दिन निबान नाम गरेका व्यक्तिलाई फसाउन चाहेका थिए ।’
३० वर्षीय निबानलाई पनि प्रहरीले पक्राउ गरेको छ । ती किशोर भने ११ कक्षामा कलेज पढ्न छाडेर छत्तिसगढको राजनन्दगाउमा सानो पसल सञ्चालन गर्थे । गत सोमबार सुरुमा इन्डिगो र एयर इन्डियाका एक्स ह्यान्डलमा बमको धम्की दिइएको थियो ।
धम्कीपछि मुम्बईबाट मस्कट र जेद्दा जान लागेका इन्डिगोका दुई विमान ग्राउन्डेड गरिएको थियो भने मुम्बईबाट न्युयोर्कका लागि उडेको एयर इन्डियाको विमान डाइभर्ट गरिएको थियो ।fazluddin69 / fazluddin27077 नाम गरेका ट्वीटर ह्यान्डलबाट ती धम्कीपूर्ण पोस्ट गरिएको थियो ।
पोस्टमा विमानमा ६ केजी आरडीएक्स र ६ जना आतङ्कवादी रहेको उल्लेख गरिएको थियो । ती किशोरविरुद्ध एफआईआर दर्ता गरिएको छ । उनीमाथि इन्डियन पेनल कोडको धारा १२५ अन्तरगत ३५१(४), ३१३(१) (बी) मुद्दा दर्ता गरिएको छ ।
बुधबार पनि बैंगलुरुबाट दिल्ली जाने आकाश एयरमा बमको धम्की दिइएको थियो । त्यस्तै, मंगलबार स्पाइस जेट, आकाशालगायत विमानमा बमको धम्की दिइएको थियो । सोमबार यता बमको धम्कीका कारण कम्तीमा २० वटा विमान डाइभर्ट वा डिले भएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।