१४ मंसिर, एजेन्सी।
रुसले युक्रेनमा भीषण आक्रमण गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका ऊर्जा केन्द्रहरूमा रूसले हवाई आक्रमण गरेको पुष्टि गरेका छन् । रूसी सेनाले लडाकू विमान र अन्य माध्यमबाट व्यापक गोलाबारी गरेको र यसबाट विद्युत आपूर्तिमा ठूलो समस्या आएको राष्ट्रपति जेलेन्स्कीको भनाइ रहेको समाचार संस्था एएफपीले जनाएको छ ।
रुसले नागरिक पूर्वाधारलाई समेत निशाना बनाएको छ । युक्रेनले ७९ वटा क्षेप्यास्त्र र ३५ वटा ड्रोन खसालेको र यसले क्षति पु¥याउँदा १० लाखभन्दा बढी युक्रेनी नागरिकलाई चिसो मौसममा बिजुलीविहीन बनाएको खबरमा उल्लेख छ ।
रुसले रातभरि कयौं स्थानमा मिसाइल र ड्रोनबाट आफ्ना ऊर्जा पूर्वाधारमा आक्रमण गरेको युक्रेनले बताएको हो । ‘युक्रेनको ऊर्जा क्षेत्र फेरि ठूलो मात्रामा शत्रुको आक्रमणको चपेटामा परेको छ,’ युक्रेनी ऊर्जा मन्त्री हरमन हालुशचेन्कोले सामाजिक सञ्जालमा एउटा पोस्टमा भनेका छन् ।
रुसी आक्रमणका बेला राजधानीमा रहेको वायु रक्षा प्रणालीले काम गरिरहेको युक्रेनको राजधानी किभका मेयर भिटाली क्लिट्सकोले बताए । बिहीबार बिहान युक्रेनी वायुसेनाले रुसले देशका विभिन्न स्थानमा आक्रमण गर्न सक्ने चेतावनी दिएको थियो ।
रुसको रक्षा मन्त्रालयले आफ्नो वायु रक्षा प्रणालीले रातारात चार क्षेत्रमा २५ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । यता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने युक्रेनी बिजुली संयन्त्र (पावर प्लान्ट) लाई लक्ष्य गरी भएको आक्रमणलाई रुसले लिएको बदलाका रूपमा व्याख्या गरेका छन् ।
पुटिनले भने, ‘गत साता युक्रेनले अमेरिका र बेलायतले दिएको हतियारले रुसमा हमला गरेको थियो । त्यसैको जवाफमा रुसले बुधबार राति ९० वटा मिसाइल र १०० ड्रोनले युक्रेनमा आक्रमण गरेको हो।’
रुसले युक्रेनको राजधानी किभका महत्त्वपूर्ण ठाउँलाई पनि निशाना बनाएको पुटिनले बताएका छन् । यसअघि युक्रेनी वायुसेनाले रुसले आफ्नो पावर प्लान्टलाई लक्ष्य गरी आक्रमण गरेको बताएको थियो ।
युक्रेनी राष्ट्रपतिले क्लस्टर हतियारको विशेष प्रयोग गरेर नागरिक र उर्जा प्रणालीलाई लक्षित गर्नका लागि हो, भनेका छन् । तर, पुटिनले बेलायत, अमेरिकालगायत आपूर्तिकर्ताले दिएका हतियार प्रयोग गरिरहेको युक्रेनविरुद्ध ९० क्षेप्यास्त्र र १०० ड्रोन लञ्च गरिएको जनाएका छन् ।
यस्तै पुटिनले युक्रेनको राजधानी किभको निर्णायक एवं केन्द्र भाग मै व्यालेस्टिक क्षेप्यास्त्र प्रहारको धम्की पनि दिएका छन् । कजाकिस्तान यात्राका दौरान पुटिनले यस्तो धम्की दिएका हुन् । पुटिनले अभिव्यक्ति दिएको केही घण्टामै रुसले युक्रेनको उर्जा ग्रीडलाई लक्षित गरेर लगातार आक्रमण गरेको हो ।
युक्रेनले २०२२ फेब्रुअरीको आक्रमणपछि पहिलो पटक गएको हप्ता मात्रै रुसी क्षेत्रमा अटाकम्स र स्टोर्म श्याडो क्षेप्यास्त्र प्रहार गर्दै आक्रमण गरेको थियो । मध्यपूर्वको तनाव व्यवस्थापन उन्मुख भएका बेला रुस युक्रेन युद्धमा झन् उत्कर्षमा पुगेको छ ।
सन् २०२२ को फेब्रुअरीमा रूसले युद्ध शुरू गरेयता युक्रेनमा विस्फोटक युद्ध सामग्रीले एक हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । अरु धेरै घाइते भएका छन् । विशेषज्ञहरूका अनुसार किभ र मस्को दुवैले झण्डै तीन वर्षको युद्धमा व्यापक शक्तिशाली गोलाबारूदको प्रयोग गरेका छन् ।