१८ पुष , काठमाण्डौ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा भएको एउटा हृदयविदारक घटनाले फेरि एकपटक मानवताको मूल्यमान्यतामाथि गहिरो प्रश्न उठाएको छ। माउ कुकुरसहित ६ वटा कुकुरलाई निर्दयतापूर्वक मारिएको आरोपमा दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
यो घटनाले हाम्रो समाजमा स्थापित दयाभाव र करुणाको अभावलाई उजागर गर्दै दानवी प्रवृत्तिको बढ्दो उपस्थितिलाई देखाएको छ। निरपराध प्राणीमाथि गरिएको यस्तो क्रूर व्यवहारले केवल ती कुकुरहरूको जीवन मात्र समाप्त गरेको छैन, यसले हाम्रो सभ्यताका आधारभूत मान्यतामाथि गम्भीर धक्का दिएको छ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ६ वटा कुकुर मारेको आरोपमा दुई जना पक्राउ परेका छन्। कुकुरलाई निर्दयतापूर्वक मारेको भन्दै दुई जनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहराले बताएका छन् ।
सुस्ता गाउँपालिका ५ बेलवानीका ३३ वर्षीय राजकुमार सारू मगर र २८ वर्षीय अमनकुमार चिडी मगर छन्। उनीहरूले गत शनिबार अपराह्न साढे ४ बजे नारायणी नदी किनारमा कुकुर मारेको आरोप छ ।
कुकुरलाई निर्मम र निर्दयतापूर्वक मारेको भिडिओ खिचेर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेका थिए। सामाजिक सञ्जालमा भिडिओ आएपछि प्रहरीले संलग्न व्यक्तिको खोजी थालेको थियो।
कुकुर मार्ने व्यक्ति राजकुमार रहेको र अमनकुमारले भिडिओ बनाएको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ। उनीहरूमाथि प्रहरीले मुलुकी अपराध संहिताको पशुपन्छीसम्बन्धी कसुरको उलंघन गरेको आरोप छ।
पशुपंक्षीमाथि निर्दयी व्यवहार गर्नेलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। त्यस्तै सार्वजनिक स्थलमा पशुपंक्षी मारेमा एक महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्ने भनिएको छ।
यस कसुरअनुसार अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ। इलाका प्रहरी कार्यालय बेलाटारीबाट घटनाको अनुसन्धान अघि बढाएको छ । भिडियोमा उनीहरूले नदी नियन्त्रणका लागी बनाईएको सिमेन्टको पर्खालमा कुकुरलाई मारेर नदीमा फालेको देखिन्छ ।