७ फागुन , एजेन्सी ।
भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु र नेपाली विद्यार्थीहरुमाथि भएको दमनकोविरुद्धमा भारतीय विद्यार्थीहरु समेत आन्दोलित भएका छन् ।
त्यहा रहेका करिब १५ सय नेपाली विद्यार्थीलाई कलेज नै छाडेर जान त्यहाँका कर्मचारीले निर्देशन दिएपछि अधिकांश नेपाली विद्यार्थी नेपाल फर्केका छन् भने त्याहा चौथो वर्षका केही विद्यार्थीहरु मात्रै बसेका छन् ।
त्याहा रहेका केही विद्यार्थीहरु समेत तत्कालकै अवस्थामा कलेज नफर्किने अडानमा रहेको अवस्थामा भारतीय विद्यार्थीहरुले समेत कलेजविरुद्ध आन्दोलन सुरु गरेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।
नेपाली विद्यार्थीमाथिको गलत व्यवहारका विषयमा कलेज प्रशासनसहित कर्मचारीले समेत माफी मागे पनि अहिलेसम्म त्यहाँको अवस्था शान्त हुन सकेको छैन । कलेज प्रशासनले त्यहाँ रहेका सुरक्षा गार्डलाई कारबाही, गलत गर्ने कर्मचारीलाई माफी मगाए पनि यो राष्ट्रियतामाथिको विषय भएकाले आफूहरू सहजै नफर्कने विद्यार्थीहरूले बताएका छन् ।
किटको घटनाको निष्पक्ष छानबिन गर्दै प्रकृतिलाई न्याय दिनुपर्ने मागसहित नेपालका विद्यार्थी संगठन सडकमै उत्रिएका छन् भने भारतमा पनि त्यहाँका सबैजसो विद्यार्थी संगठनले प्रकृतिको न्यायका लागि जोडदार आवाज उठाएका छन् ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु, नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघ तथा माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) लगायतका विद्यार्थी संगठनहरूले लम्सालको मृत्यु प्रकरणमा कडा शब्दमा विज्ञप्ति जारी गरेका छन् ।
भारतमा समेत प्रमुख सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) निकट राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) तथा प्रमुख प्रतिपक्षी भारतीय राष्ट्रिय कंग्रेसका विद्यार्थी संगठनहरूले विज्ञप्तिमार्फत घटनाको छानविन र नेपालीविद्यार्थीमाथि भएको घटनाको विरोध गरेका छन् ।
आरएसएसनिकट विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषदले विज्ञप्तिमार्फत भनेको छ , ‘नेपाली विद्यार्थीको मृत्युपछि आन्दोलनरत नेपाली विद्यार्थीहरूलाई विश्वविद्यालय प्रशासनले गरेको दमन खेदयोग्य छ ।
नेपाली विद्यार्थीलाई क्याम्पस खाली गर्न उर्दी गर्ने काम गैरकानूनी मात्रै होइन, यो मानव अधिकारको हनन् तथा नेपाल र भारत दुई देशको बलियो सम्बन्धलाई प्रभाव पार्ने कुरा हो ।’ अखिल भारतीय विद्यार्थी परिषदले प्रकृति लम्साल दुःखद मृत्युका बारेमा निष्पक्ष छानबिनको माग गरेको छ ।
विद्यार्थीहरूलाई निष्कासन गरेकै दिन केआईआईटीमा पुगेर अखिल भारतीय विद्यार्थी संगठनले प्रदर्शन समेत गरेको थियो । यस्तै भारतीय राष्ट्रिय कंग्रेसको विद्यार्थी संगठनले पनि सोमबार घटनाको बिरोध गरेको थियो ।
नेसनल स्टुडेन्ट्स अफ इण्डियाका अध्यक्ष वरुण चौधरीले ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीलाई संगठनको तर्फबाट एक पत्र लेखेर विरोध जनाएका छन् । यसबाहेक भारतका वामपन्थी विद्यार्थी संगठनहरूले पनि घटनाको निन्दा गरेका छन् ।
अखिल भारतीय विद्यार्थी फेडेरेसन ओडिया स्टेट काउन्सिलको प्रेस विज्ञप्तिले पाँच माग राखेको छ । यस्तै वामपन्थी खेमाकै अर्को विद्यार्थी संगठन अल इण्डिया स्टुडेन्ट्स एसोसिएसनको केन्द्रीय समितिले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरेर घटनाको भत्र्सना गरेको छ ।
प्रकृतिको रहस्यमय मृत्युका विषयमा भने प्रहरीले एकजनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ । उनलाई अदालतले न्यायिक हिरासतमा पठाएको छ । यो विषय त्याहाको प्रदेशसभामा समेत ब्यापक रुपमा उठेपछि प्रकृति लम्सालको मृत्युपछि सिर्जित परिस्थितिबारे छानबिन गर्न ओडिसा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
ओडिसा प्रदेश सरकारको सूचना तथा जनसम्पर्क विभागले प्रेस विज्ञप्ति जारी गर्दै छानबिन समिति गठन गरिएको उल्लेख गरेको छ । समितिमा गृह विभागबाट अतिरिक्त मुख्य सचिव, महिला तथा बालविकास विभागबाट प्रमुख सचिव र उच्च शिक्षा विभागबाट आयुक्त सहसचिव सदस्य रहने भनिएको छ ।
विज्ञप्तिमा प्रदेश सरकार विद्यार्थीहरूको सुरक्षा, सम्मान र कल्याणका लागि सुनिश्चित गर्नका लागि प्रतिबद्ध छ । ‘ओडिसा सरकारले सबैलाई न्यायका लागि आवश्यक कदमहरु चाल्नेछ’, विज्ञप्तिमा भनिएको छ ।
आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । उनले आफूमाथि सोही कलेजमा अध्ययनरत एक विद्यार्थी मानसिक यातना दिइरहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध विभाग (आईआरओ) मा दुई पटक निवेदन दिएकी थिइन् । तर, कलेजले गम्भीरता नदेखाएको उनका साथीहरुले बताउँदै आएका छन् ।