राजा फर्काउँछु भन्नेहरुको प्रसाईंले सात्तो खाए,तीन जना तीन तिर

२६ फागुन ८१, मंगलबार

२७ फागुन , काठमाण्डौ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आइतबार काठमाडौंका सडकमा उत्रिएको प्रर्दशनको श्रेय लिन राजावादीहरुमा होडबाजी चलिरहेको छ। राप्रपा, राप्रपा नेपाल पूर्वराजाको स्वागत सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै उत्साहित भइरहेको बेला त्यही अभियानमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भने कसैले नसकेको काम आफूले गरेको दाबी गरेका छन् ।

उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले धमिलो पानीमा माछा मार्ने काम गरेको आरोप लगाएका छन् । पूर्वराजाको स्वागतका लागि राजर्शी ठाटमा आफ्नो छुट्टै समूहका साथ पुगेका प्रसाईंले आज पत्रकार सम्मेलन गर्दै कसैले पनि अहिलेसम्म पूर्वराजालाई सडकमा ल्याउन नसकेको बताउँदै आफूले नै ल्याएको दाबी गरे।

Advertisement

“पूर्वराजालाई कसैले सडकमा ल्याउन सकेको थिएन, मैले ल्याएँ,” उनले भने, “तीन वर्षअघि यो अभियान चलाउँदा १२ भाइ मिडियाले खेदो पनि खने । गोरुगाडा चढेर अमेरिका जान लागेको भनेर आलोचना गरे ।” उनले हात समातेर नारायणहिटी छिराउने तयारी गरिएको बताए ।

“कमल थापा र राजेन्द्र लिङ्देनले २०७२ मा हस्ताक्षर नगरेको भए राजसंस्था जाँदैनथ्यो,” उनले भने, “अहिले माहोल बनेपछि धमिलो पानीमा माछा मार्न आए उनीहरु । अझ देखाउनका लागि नगरपालिकामा गएर पैसा तिर्ने ?” उनले माहोल बनेपछि आएका कमल थापा र राजेन्द्र लिङ्देनले आफूलाई सहकार्य गर्न बोलाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । “चैतदेखि राप्रपाले आन्दोलन गर्ने रे ! आउनुप¥यो रे मलाई । मलाई गोठालोजस्तो सम्झिएछन् । म राजासँगै आन्दोलन गर्छु । गोठालासँग सडकमा जान्न,” उनले भने, “राजालाई सचिवालयले बिगारेको छ । हामी बनाउछौँ । कलियुगको अर्जुन हो दुर्गा प्रसाईं तपाइँ रथ चलाउनू । गणतन्त्रको भोज खाएर माहोल बनेपछि आउने ढोक्सा थाप्न ?”

राप्रपाले भने मुलुकलाई निकास दिन र कसैलाई निषेध नगर्ने व्यवस्थाका लागि ‘नवीन समझदारी’गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । लिङ्देनको अध्यक्षतामा सोमबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सम्मान र स्वागत कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ ।

यस्तै राप्रपाले आम नागरिकको उत्साहजनक उपस्थितिले नेपालमा राजसंस्थाको आवश्यकता र अपरिहार्यता प्रमाणित भएको समेत जिकिर गरेको छ । ‘आम नागरिकको चाहना, देशको आवश्यकता, सडकमा प्रतिबिम्वित जनभावना अनुरुप मुलुकलाई निकास दिन र कसैलाई निषेध नगर्ने व्यवस्थाका लागि ‘नवीन समझदारी’गर्न राप्रपा सबै राजनीतिक दललाई आह्वान गर्दछ’, प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसका लागि आवश्यक संवादको थालनी गर्न समेत राप्रपाले सबै राजनीतिक दललाई विज्ञप्तिमार्फत आग्रह गरेको छ । यस्तै राप्रपा नेपालले देशलाई संकटबाट मुक्त तुल्याउन पूर्व राजाबाट सहयोगको निम्ति गरिएको आह्वानलाई जनताले अनुमोदन र आत्मसात् गरेका निष्कर्ष निकालेको छ ।

अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले चारबुँदे निर्णय गरेको छ । फागुन २५ गते काठमाडौंमा देखापरेको बृहत् जनप्रदर्शन ऐतिहासिक जनप्रदर्शनले अब चाँडै नै हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापना हुने सुस्पष्ट संकेत गरेको बैठकपछि पार्टीका महामन्त्री तथा सचिवालय प्रमुख राजाराम बर्तौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा जनताको यो आवाज, चाहना र समयको मागलाई सम्बोधन गर्दै शान्तिपूर्ण ढंगबाट निकास खोज्ने जिम्मेवारी प्रमुख राजनीतिक दलहरूको काँधमा आएको भन्दै जनताले यथास्थितिमा परिवर्तन खोजेको तथा हिन्दुराष्ट्र र राजसंस्थाको पुनस्र्थापना, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्य र देशभित्रै रोजगारीको सिर्जना जनताको चाहना भएकोसमेत जनाइएको छ ।

सर्वपक्षीय सहमतिको आधारमा सबै विचार र शक्तिहरू अटाउने मौलिक प्रजातान्त्रिक प्रणाली स्थापना गर्न अब ढिलो गर्नु नहुने भन्दै पार्टीले जनताको चाहना र भावनालाई दमन गर्ने वा उपेक्षा गर्ने प्रयास गरिएमा परिस्थिति नियन्त्रणभन्दा बाहिर गई अप्रिय दुर्घटना हुनेसमेत जनाइएको छ । ‘यसतर्फ सचेत रहन सबै राजनीतिक दलहरूलाई राप्रपा नेपाल आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

यद्यपि आज मात्रै कमल थापाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । फेसबुकमा लेख्दै थापाले लोकतन्त्रको विकल्प राजतन्त्र होइन त्यो सबैले बुझेका छन् भनेका हुन् । ‘लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुनसक्दैन । त्यो सबैले बुझेका छन् । जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको होइन । जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन, राजासहितको लोकतन्त्र खोजेको हो ।’ थापाले भनेका छन्, ‘लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र,सिण्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प खोजेको हो ।’

उनले जनताले मर्यादित र जवाफदेही लोकतन्त्र खोजेको भन्दै राजासहितको प्रजातन्त्र विश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिएको उल्लेख गरेका छन् । राजसंस्थाको वकालत गर्ने शीर्ष नेताहरुको आआफ्नै दावीका बीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोशन कार्कीले गत २५ फागुनमा काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा देखिएको भिड ‘ट्रायल’ मात्रै भएको बताएकी छिन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्ने क्रममा उनले अरु ७३ जिल्लाका मान्छे यसैगरी उत्रिएको खण्डमा गणतन्त्रका नेताहरूलाई लुक्ने ठाउँ समेत नहुने बताइन् । ‘एक जना मित्रले के भन्नुभयो भने राजाको जयजयकार गरेको र नेताहरू जिल्लामा जाँदा मुर्दावाद भनेको उहाँले सुन्नुभएको थिएन होला,’ कार्कीले भनिन्, ‘मित्र यो त ट्रायल मात्रै हो । अरु जिल्लाका मान्छे थपिए, अरु ७३ जिल्लाका मान्छे थपिए भने त्यो देखेर नआत्तिनुहोला ।’

उनले त्यतिबेला लुक्ने ठाउँ अहिले नै खोजेर बस्न समेत आग्रह गरिन् । ‘लुक्ने ठाउँ अहिले नै खोजेर बस्नुहोला,’ कार्कीको आग्रह छ । वर्तमान सरकारको नालायकीका कारण २५ गतेको भिड जन्मिएको उनको भनाइ छ । ‘सबै नागरिकको अधिकार छ, नागरिकले आफ्ना कुरा राख्न पाउँछन् । २५ गतेको जुन भिड थियो, यो नालायक सरकारले जन्माएको भिड हो । तपाईंहरू जति सरकारमा बस्नहुन्छ यो भिड अझै बढ्दै जान्छ,’ उनले भनिन् ।

यता राजावादीको प्रर्दशनलाई लिएर अलि बढी नै चिन्तित देखिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र प्रचण्ड र व्यक्तिका रुपमा ज्ञानेन्द्र शाहको बराबर रहेको हुँदा त्यसलाई गलत ढंगले प्रयोग नगर्न चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजावादी साथीहरु सडक र सदनमा पनि भएको हुँदा सरकारको कुशासनले पनि जनता सडकमा उत्रिन बाध्य भएको बताए ।

“प्रतिपक्ष दलको नेता रोष्ट्रममा उभिँदा प्रधानमन्त्रीको घमण्ड हो कि संस्कारहिनता हो कि कुन्ठा हो त्यसको जवाफ आफैँ खोज्नुहोला आत्मालोचना गर्नुहोस्,” उनले भने । प्रचण्डले सरकारको विश्वसनीयता सकिएकै देखेर पुरातनपन्थी राजतन्त्रवादी हौसिएको बताए ।

‘वर्षौँसम्म बन्द कोठामा समेत राजतन्त्र पुनस्र्थापनाको सपना देख्न डराएकाहरू आज सडकमै ओर्लेका छन् र सडकबाटै राजसंस्था पुनस्र्थापनाको चुनौती दिएका छन्’, प्रचण्डले भने, ‘यसका पछाडि संगठित प्रयास छ । देश भित्र र बाहिरका चलखेल मिसिएका छन् ।’

उनले यस्ता चलखेल हिजो र अस्ति हुँदै आए पनि तर अहिले अचानक किन वृद्धि भयो ? भनेर प्रश्न गरे । साथै उनले सत्तामा रहेका पार्टीमा रहेकाले गरेका शासकीय शैली नै मूलकारण हो भन्ने बुझाइ रहेको प्रचण्डको भनाइ छ । उनले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने भन्दै लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीलाई आग्रह गरेका छन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top