६ चैत , काठमाण्डौ ।
यो दृश्य कुनै टोले गुण्डाहरुबीचको झगडाको होइन । न त यी लठ्ठी लिएर लखेट्ने युवाहरु नै कुनै होटलका बाउन्सर हुन् । यीनीहरु सुधारगृहमा राखिएका युवा पनि होइनन् । यो अभिनयका लागि खिचिएको भिडियो पनि होइन । यो त भोलिका दिनमा नेपालको स्वास्थक्षेत्र आफ्नो काँधमा बोक्ने जमात हो ।
यो नेपालीलाई स्वस्थ बनाउन, जीवन बचाउन, रोगबाट मुक्त गर्न शिक्षा आर्जन गर्दै गरेको मेडिकल कलेजका विद्यार्थीहरुको समूह हो । जो आपसमा यसरी भिड्दैछन् । त्यो पनि पढाइका लागि होइन, व्यक्तिगत कारणले पनि होइन ।
यो लडाइँको कारण हो क्याम्पसमा भएको विद्यार्थीहरुको चुनाव । जसमा हार्ने पक्ष र जित्नेपक्षबीच यो हदसम्मको स्थिति निम्तिएको छ । महाराजगञ्ज मेडिकल कलेजमा चुनावपछि विद्यार्थीहरुले अनुभव गरेको अवस्था हो यो । खासमा यो कलेजमा नेविसंघले स्ववियु अध्यक्ष जितेको छ ।
अनेरास्ववियुका उम्मेदवार पंकज गुप्तालाई १३० मतान्तरले पराजित गर्दै नेविसंघका उम्मेदवार विवेककुमार यादव विजयी भएका हुन् । उनी विजयी भएसँगै नेविसंघका नेता कार्यकर्ता अराजक बन्न थाले। उनीहरूले अनेरास्ववियु तथा अखिल क्रान्तिकारीका उम्मेदवारहरूमाथि कुटपिट गर्न थाले ।
उनीहरुले होस्टेलमा बसिरहेका बेला अनेरास्ववियुको तर्फबाट स्ववियु सचिवका उम्मेदवार बनेका रूपसिंह सुनारमाथि आक्रमण गरे । विजयी र्याली मनाउँदै नेविसंघका नेता कार्यकर्ता होस्टेलका कोठा कोठामा पुगेका थिए । त्यही बेला कोठाभित्र बसेकाहरू विपक्षीमाथि ढोकामा लात्तीले हान्ने, वियरका बोतल प्रहार गर्ने जस्ता अराजक गतिविधि गर्दै आएको विद्यार्थीहरूको आरोप छ ।
जुन यो भिडियोमा देखिएको छ । जसमा होस्टेल बाहिर बसिरहेका व्यक्तिहरूमा सामूहिक आक्रमण गरेको देखिन्छ । आयो आयो नेविसंघ आयो भन्दै नाराबाजी गर्दै हिडेका नेविसंघका कार्यकर्ताहरूले ढोकामा लात्ताले हानेर फुटाएका हुन् ।
करिब २०० जनाको संख्यामा रहेका नेविसंघका नेता कार्यकर्ताहरू विद्यार्थी बसिरहेका होस्टेलमा गएर अनेरास्वयिवु, अखिल क्रान्तिकारीका उम्मेद्वार तथा नेता कार्यकर्तामाथि कुटपिटमा उत्रिएका हुन् । यो विषयमा आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले समेत उठाएका छन् ।