१७ असार, काठमाडौं ।
नेपाली युवा टोली एसीसी पुरुष यू–१६ इष्ट जोन कपमा समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ। यसअघि नै सेमिफाइनल पुगिसकेको नेपाली युवा टोलीले समूह चरणको अन्तिम खेलमा भुटानमाथि २ सय ९८ रनको फराकिलो जित निकालेको हो।
यसअघि इन्डोनेसियालाई ३७० रनले पराजित गर्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको थियो । विपिन प्रसाद शर्माको घातक बलिङ र रौनक श्रीवास्तवको विस्फोटक ब्याटिङमा मलेसियामा जारी प्रतियोगितामा अपराजित नेपाल ४ खेलबाट ८ अङ्क जोड्दै समूह विजेता बनेको छ।
नेपालले दिएको ३ सय ५९ रनको लक्ष्य पछ्याएको भुटान ३२.४ ओभरमा ६० रन बनाउँदा अलआउट भयो। भुटानलाई सस्तैमा रोक्न विपिनले चार विकेट लिए।
विपिनले आफ्नो स्पेलमा ६ ओभर मेडन राख्दै चार विकेट लिँदा मात्र ७ रन दिए। सचिन भट्टले सात ओभरमा ५ ओभर मेडन राख्दै १३ रन दिएर २ विकेट लिए।
सुयोग भट्टराईले ५ ओभरमा १ मेडन राख्दै १२ रन दिएर १ विकेट आफ्नो नाममा गरे। भुटानका लागि शेजाङ दावाले बनाएको १४ रन नै सर्वाधिक रह्यो।
ओपनर उग्यान केल्जाङ चोपेलले १० रन थपे। अन्यले दोहोरो अङ्कको स्कोर छुन सकेनन्। नेपालले २२ रन अतिरिक्त रन दिएको थियो।
त्यसअघि मलेसियाको क्वालालाम्पुरस्थित सेनेगर टर्फ क्लबमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५८ रनको विशाल योगफल तयार पारेको थियो।
पाँचौँ विकेटका लागि जय थापा र रौनक श्रीवास्तवले १ सय २५ बलमा १ सय ६१ रनको साझेदारी गरेपछि नेपालले विशाल योगफल तयार गरेको हो। नेपालका लागि रौनकले कीर्तिमानी १ सय ६८ रनको महत्त्वपूर्ण योगदान दिए।
उमेर समूहमा रौनकले बनाएको यो नेपालको व्यक्तिगत सर्वाधिक स्कोर हो। उनले १ सय ३२ बलमा १६ चौका र ५ छक्का प्रहार गर्दा सञ्जय दोर्जीको बलमा जिग्मे सम्द्रुपको हातबाट क्याच आउट हुन पुगे।
जय थापा ६१ रनमा नटआउट रहे। उनले ६७ बलमा ७ चौका प्रहार गरे। सचिन भट्ट ८ रनमा नटआउट रहे। विकेट किपर श्रीवांस बजगाई ५४ रनमा रन आउट भए।
सुगम बुढाथोकीले ३५ रन थपे। ओपनर परिमार्जन यादव २ र प्रसिद्ध जैसी ७ रनमा पेभेलियन फर्किए। भुटानका लागि सञ्जय दोर्जीले ३ विकेट लिए।
तेन्जिङ जाम्त्सोले एक विकेट आफ्नो नाममा गरे। यू–१६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ । नेपाल रहेको समूह ए मा सिंगापुर, इन्डोनेसिया, जापान र भुटानसँगै छन् ।
समूह बी मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन्। अब नेपालले मलेसियाको समाना गर्नेछ भने अर्काे सेमिफाइनलमा सिंगापुर र हङकङ भिड्नेछन् ।