७ कार्तिक , काठमाण्डौ ।
भदौ २३ र २४ गते स्वतःस्फुर्त रुपमा जेनजीहरु सडकमा उत्रिए । न उनीहरुका संघ सगान थिए नत उनीहरुका अगुवा नै, हरेक जेनजीहरु आन्दोलनका अगुवा र नेतृत्वकर्ता थिए । जसले केपीशर्मा ओली नेतृत्वको सरकारलाई घुँडा टेकाए ।
आन्दोलनकै बलमा देशका सुशीला कार्की नेतृत्वको सरकार बन्यो सरकारले फागुन २१ गते चुनाव घोषणा गरेको छ । जेनजीका माग अनुरुप २३ र २४ गतेको आन्दोलनको छानविनका लागि आयोग गठन भएको छ भने भ्रष्टाचार नियन्त्रण, भ्रष्टाचारीहरुलाई जेल हाल्नु पर्ने सहितका अनेकन जेनजीका मागहरुमा सरकारले प्रतिवद्धता मात्रै जनाएको छ ।

प्रत्यक्ष कार्यकारीसहितको शासकीय व्यवस्थाको माग अहिलेको सरकारले पूरा गर्न नसक्ने बताइसकेको छ । नेतृत्व विनाको जेनजी आन्दोलनपछि अहिले जेनजीहरु विभिन्न समूहमा विभाजन भएका छन् ।
जसमा कोही प्रधानमन्त्री ,राष्ट्रपतिसँगको छलफलमा छन्, कोही चुनावको तयारीमा छन् भने कोही फेरि आन्दोलन गर्नेदेखि कोही सबै जेनजीहरुलाई एकत्रित गर्ने अभियानमा छन् ।

यसरी सबै जेनजीहरुलाई एक बनाउने अभियान स्वरुप आजदेखि सडक आन्दोलन नै सुरु भएको छ । जेनजी युनाइटेडका नाममा काठमाडौंको माइती घरमा जेनजीहरु धर्नामा उत्रिएका छन् ।
स्वार्थ समूहका कारण मागहरु ओझेलमा पर्दै गएको शहीदको रगत खेर जाने हो कि भन्दै जेनजीहरु एक हुनुपर्ने भन्दै जेनजी युनाइटेडका नाममा आज विहानैदेखि काठमाडौंको महाइतीघरमा धर्ना सुरु भएको छ ।

उनीहरुले शहीद रगत नर्विस, यस वर्षको तिहार शहीदका नाममा , देश दुख्दा मौन नबसौं, एक हौं,राष्ट्र पहिला अहंकारपछि, यस वर्षको तिहार शहीदहरुको रगतलाई समर्थित, देशका घाउहरु हाम्रो जिम्मेवारी, देशअघि स्वार्थपछि लगायतका प्ले कार्ड बोकेका छन् ।
प्रशासनबाट अनुमति नलिएपछि धर्नामा बसेका जेनजीलाई प्रहरीले हटाउने प्रयास गरेको थियो । प्रहरी र जेनजीहरुबीच केही समय चर्काचर्की समेत भएपछि प्रहरी अहिले पछि हटेको छ ।

जेनजीहरु शान्तिपुर्ण रुपमा माइतीघरका धर्ना दिइरहेका छन् । उनीहरुले प्राप्त उपलब्धि रक्षाका लागि जेनजीहरु एक हुनुपर्ने बताएका छन् । गृहमन्त्रालयले यसअघि असोज २२ गते नै सबै नागरिकका चासो, सरोकार र मागलाई गम्भीरतापूर्वक वार्ता एवम् छलफलमार्फत समाधान गर्न सरकार सधैं सकारात्मक रहेको भन्दै धर्ना–जुलुस लगायतका कार्यक्रम गर्नु अगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्नेतर्फ अग्रसर हुन सबैमा अनुरोध गरेको थियो ।

जेनजीहरुले अर्को ठूलो आन्दोलन गर्न लागेको चर्चाबीच गृहले विज्ञप्ति जारी गरेर सो अनुरोध गरेको हो । मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा जेनजी आन्दोलनपश्चात देशमा नयाँ परिस्थिति विकास भएको उल्लेख छ ।
‘नयाँ सरकारको गठनसँगै स्थिति नियन्त्रणमा लिई शान्ति सुरक्षाको अवस्था सामान्य बनाउन र आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण तयार गर्नेतर्फ सरकार क्रियाशील रहेको छ ।

देशमा शान्ति सुरक्षा बहाली गर्दै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरोकारवाला तथा आम नागरिककोसमेत अहम् दायित्व हुन आउँछ,’ विज्ञप्तिमा भनिएको छ । मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन कायम राख्दै निर्वाचनलाई सफल बनाउन सबै नागरिकले आफ्ना आवाज, अपेक्षा र असन्तुष्टिहरू शान्तिपूर्वक राख्न गृहले अनुरोध गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘धर्ना, जुलुसलगायत विरोधका कार्यक्रमहरूलाई सभ्य, मर्यादित र शान्तिपूर्ण बनाउन मन्त्रालय सबैसँग अनुरोध गर्दछ । साथै नागरिकका चासो, सरोकार र मागलाई गम्भीरतापूर्वक वार्ता एवम् छलफलमार्फत समाधान गर्न सरकार सधैं सकारात्मक रहेको व्यहोरा अनुरोध गर्दै धर्ना जुलुस लगायतका कार्यक्रम गर्नु अगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्नेतर्फ अग्रसर हुन सबैमा हार्दिक अनुरोध छ ।’
जेनजी युनाइटेडका नाममा सडकमा धर्ना सुरु भइसकेको अवस्थामा केही जेनजी समूहहरुसँग सरकार भने लिखित सम्झौताको तयारीमा रहेको छ । सरकार र जेनजीहरूबीच जेनजी आन्दोलनका माग र मुद्दाहरूको दस्तावेजीकरण तथा त्यसको कार्यान्वयनका लागि लिखित सम्झौता हुने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सरकार र जेनजीहरूबीच लिखित सम्झौता हुन लागेको हो ।सम्झौताकै लागि विभिन्न ८ वटा जेनजी समूहसँग सरकारले औपचारिक वार्ता गर्न लागेको छ।
सरकारी पक्षबाट जेनजीहरुसँग संवाद र छलफलको संयोजन प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले गरिरहेका छन् । गत ३० असोजमा राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिको उपस्थितिमा भएको उक्त छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, मन्त्रीहरुसहित जेनजी, घाइते र सहिद परिवार गरी आन्दोलनकारी पक्षबाट १६ जनाको सहभागिता थियो ।

अबेर रातिसम्म चलेको उक्त छलफलका क्रममा आन्दोलनकारी पक्षले लिखित सम्झौता हुनुपर्ने माग जोडतोडले राखेका थिए । विभिन्न फरकफरक समूहका मान्छेहरू जेनजी अगुवाका रुपमा देखिन थालेपछि खास आन्दोलनको अग्रमोर्चामा रहेका जेनजीहरूसँग सरकारले औपचारिकता खोजेको बताइन्छ ।
सुरक्षा निकायहरूले पनि जेनजीका आवरणमा करिब २५ वटा समूहले राजनीतिक र गैरराजनीतिक प्रकृतिका गतिविधि समेत भइरहेको प्रतिवेदन सरकारलाई दिएका छन् ।










