१६ कार्तिक , काठमाण्डौ ।
काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनमा गम्भीर संकट निम्तिएपछि सहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडास्थित ल्यान्डफिल्ड साइटको निरीक्षण गरेका छन् । उपत्यकाका सडक फोहोरले दुर्गन्धित हुँदै गएको अवस्थामा मन्त्री घिसिङले स्थानीय प्रशासन, फोहोर व्यवस्थापनसँग सम्बन्धित अधिकारी र स्थानीय प्रतिनिधिसँग छलफल गर्न बन्चरेडाँडाको निरीक्षण गरेका हुन्।
यो निरीक्षणलाई उपत्यकाको दैनिक जीवनमा प्रभाव पारिरहेको फोहोर संकटलाई केन्द्रमा राखेर समाधानको बाटो खोज्ने प्रयासका रूपमा लिइएको छ । उपत्यकामा काठमाडौं महानगरपालिका र अरू स्थानीय तहबाट दैनिक एक हजार २०० टनभन्दा बढी फोहोर जम्मा हुन्छ ।
सिसडोल ल्यान्डफिल्ड साइटको क्षमता यसअघि नै सीमित भइसकेको छ । त्योसँगै बन्चरेडाँडा ल्यान्डफिल्डलाई फोहोर व्यवस्थापनको वैकल्पिकस्थलका रूपमा विकास गरिएको थियो । तर, विगतका वर्षमा यो साइटसँगका विभिन्न समस्याले गर्दा फोहोर व्यवस्थापन पूर्ण रूपमा प्रभावकारी हुन सकेको छैन ।
मन्त्री घिसिङले निरीक्षणका क्रममा साइटको पूर्वाधार, फोहोर विसर्जन प्रक्रिया तथा वातावरणीय प्रभावबारे विस्तृत जानकारी लिएका छन् । स्थानीयले फोहोर विसर्जनले हुने वातावरणीय प्रदूषण, पानीका मुहानमा असर, स्वास्थ्य जोखिम र सडक अवरोधजस्ता समस्याबारे चिन्ता व्यक्त गर्दै आएका छन् ।
०७९ भदौमा स्थानीयले सडक अवरुद्ध गरेपछि फोहोरका गाडी बाटोमै रोकिएका थिए । त्योसँगै उपत्यकामा फोहोर थुप्रने संकट निम्त्याएको थियो । अहिले पनि पुरानै स्थिति दोहोरिएको छ । ०८० मा गरिएको एक अध्ययनमा बन्चरेडाँडा क्षेत्रमा फोहोरका कारण माटो र पानीमा प्रदूषण बढेको पाइएको थियो ।
त्यसले स्थानीय किसानको कृषि उत्पादनमा असर पुगेको छ । स्थानीयले विगतमा सरकारसँग १८ बुँदे सहमति गरे पनि ती कार्यान्वयन नभएको भन्दै पटक–पटक विरोध प्रदर्शन गरेका छन् । गएको असोजमा गरिएको छलफलमा पनि सहमति जुट्न सकेन ।
त्योसँगै फोहोर विसर्जनमा अवरोध सिर्जना भएको थियो । यी समस्याका कारण उपत्यकाको फोहोर व्यवस्थापन दिगो हुन सकेको छैन । स्थानीयले स्वास्थ्य जाँच, मुआब्जा तथा पूर्वाधार विकासको माग गर्दै आएका छन् ।
निरीक्षणका क्रममा मन्त्री घिसिङले फोहोर छुट्ट्याउने प्रक्रियालाई कडाइका साथ लागु र स्थानीयसँगको सहमति कार्यान्वयन गर्न निर्देशन दिएका छन् । आफूहरुसँग यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गरेपछि मन्त्री घिसिङ आइतबार विहान त्यहाँ पुगेका हुन् ।
शुक्रावारदेखि स्थानीयले फोहोर बोकेको गाडीहरुलाई ल्याण्डफिल्ड साइटमा जान दिएका छैनन् । उनीहरुले माग सुनुवाइ नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान राखेका छन् । फोहर विसर्जन कार्य वैज्ञानिक रूपमा व्यवस्थित हुनुपर्ने लगायत विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै स्थानीयले फोहोर फाल्न अवरोध गरेको बताएका छन् ।
सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल क्षेत्रमा फोहोर व्यवस्थापनका लागि यसअघि भएको १८ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने उनीहरूको माग छ । २०७९ जेठ २६ मा काठमाडौं महानगरसँगको १८ बुँदे सहमतिमा फोहोर विसर्जन रातको समयमा मात्र गरिने, दुर्गन्ध नआउने प्रबन्ध मिलाउने, फोहोर बोकेका गाडीले लिच्चड नचुहाउने र फोहर विसर्जन पश्चात लिच्चड खोलामा जान नदिन वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने सहमति थियो ।
शुक्रबार भने सहरी विकास मन्त्रालयले स्थानीयलाई वार्तामा बोलाएको थियो । काठमाडौँबाट फोहोर लिएर गएका गाडीहरू बाटोमै रोकिएपछि र स्थानीयसँग वार्ताको प्रयास भए पनि समाधान निस्किएपछि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि आ–आफ्नो घर, पसल, तथा व्यवसायबाट उत्सर्जन हुने फोहोरलाई घरमै सुरक्षित तवरले राख्न अनुरोध गरेको छ । बालेनले मेयर बने यता काठमाडौंको फोहोर व्यवस्थापनालाई मुख्यप्राथमिकतामा राखेपनि दीर्घकालीन समाधान हुन सकेको छैन् ।








