२२ कार्तिक , काठमाण्डौ ।
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सांसद् मोहम्मद अफताब आलमको निधन भएको छ। स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएका आलमको गएराति साढे २ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ।
केही दिनदेखि काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचाररत उनलाई भेन्टिलेटरमा राखिएको थियो। अस्पतालका व्यवस्थापन प्रमुख नारायण प्रसाद दाहालका अनुसार करिब दुई साताअघि आलमलाई सिधै आईसीयुमा भर्ना गरिएको थियो।
अवस्था झन् जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो। उपचारमा संलग्न चिकित्सकहरूले आलमको मिर्गौला फेल भएको र निरन्तर डायलाइसिस भइरहेको जानकारी दिएका छन्।
गत जेठमा नक्खु कारागारबाट रिहा भएको केही दिनमै उनलाई ब्रेन स्ट्रोक भएको थियो। त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गरिएको र पछि भारतमा समेत उपचार गराएको बताइएको छ।
चिकित्सकका अनुसार ब्रेन स्ट्रोकपछि देखिने दीर्घकालीन असरकै कारण उनको निधन भएको हो। २०६४ साल चैत २७ गते संविधानसभा निर्वाचनको अघिल्लो राति रौतहटको राजपुरमा आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा विस्फोट भएको थियो।
उक्त घटनामा श्रीनारायणका छोरा त्रिलोकप्रताप सिंह र स्थानीय ओशी अख्तर घाइते भएका थिए। घाइतेहरूलाई उपचारमा लैजानुको सट्टा जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा जिल्ला अदालत रौतहटले आलमलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।
तर उच्च अदालतले सो फैसला उल्टाएपछि उनी जेलमुक्त भएका थिए। त्यसपछि केही समयमै उनलाई ब्रेन स्ट्रोक भएको थियो।










