२१ फागुन , काठमाण्डौ।
देशभर मतदानको उत्साह देखिरहँदा आजको यो चुनाव युवाहरुका लागि पनि निकै विशेष रहेको छ । किनभने यो चुनाव युवाहरुकै आन्दोलनबाट सम्भव भएको हो । १८ वर्ष उमेर पूरा भई मतदाता नामावलीमा सुचीकृत भएका मतदाताहरु झन्डै १० घण्टा हुने मतदानमा सहभागी हुँदैछन् ।
चुनावमा भोट हाल्नकै लागि भनेर युवाहरु विदेशबाट फर्किएका पनि छन् । युवाहरुको यो जोशले उनीहरुका अभिभावक, छरछिमेक, देशैभरका सबै मतदाताहरुमा पनि उत्साह थपेको छ । सोही कारण हो कि विभिन्न जिल्लामा निर्वाचन विथोल्न विभिन्न समूह आतंक फैलाउने प्रयास गरेपनि आज विहानैदेखि देशभरका मतदानस्थलमा भोट खसाउनेको भीड लागेको छ ।
यसक्रममा हरेक मतदाता बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानमा निर्धक्क सहभागी हुने वातावरणको सुनिश्चितता गरिएको छ । सामान्य अवस्थामा मतदानका लागि तोकिएको समयभित्र लाइनमा रहनेहरूले भोट दिन पाउनेछन् । तर उनीहरूले त्यहाँ उम्मेदवारको चिन्ह वा मतसङ्केत वा तिनको पहिचान खुल्ने लोगो प्रयोग हुने पोसाक वा ब्याज प्रयोग गर्न नमिल्ने निर्वाचन आयोगले जनाएको छ।
मतदाताबाहेक निर्वाचन आयोगबाट अनुमति पाएका व्यक्ति वा अधिकारी मात्र मतदान केन्द्रमा प्रवेश गर्न पाउनेछन् । “बायोमेट्रिक दर्ता प्रणालीका कारण अवैध व्यक्तिले मतदान गर्ने, दोहो¥याएर मतदान गर्ने सम्भावना यसपटकको निर्वाचनमा कम हुने अवस्था रहेको छ । र पनि केही उछृंखल तत्वले अनियमितता गर्ने, बल प्रयोग गर्ने, हुलहुज्जत गर्ने सम्भावना नकार्न सकिदैन, यस्तोमा सबै सचेत रहनु पर्छ, सभ्य भएर मतदान गर्नुपर्छ । र यही कारण पनि पहिल्यै संवेदनशील क्षेत्र भनेर पहिल्याइएका केन्द्रमा स्वदेशी र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको नजर बढेको छ ।
अनुमति पाएका व्यक्तिहरूमा आयोगबाट अनुमति पाएका पर्यवेक्षक, प्रत्यक्षतर्फका उम्मेदवार वा निर्वाचन आयोगबाट अनुमति पाएका तिनका एकजना प्रतिनिधि, समानुपातिक निर्वाचन प्रणाली बमोजिम दलको निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि हुन सक्नेछन् ।
मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको बालबालिका एवं दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्य पनि केन्द्रमा जान पाउँछन्।
यसबीच हामीले ख्याल गर्नु पर्ने कुरा भनेको मतदान केन्द्रमा प्रवेश गर्ने व्यक्तिले सलाई, लाइटर, एसिडजस्ता प्रज्ज्वलनशील पदार्थ, क्यामेरा, मोबाइल फोन लगायतका सामग्री तथा मतदान अधिकृतले निषेध गरेको अन्य कुनै चिज वा वस्तु लिएर नमिल्ने निर्वाचन आयोगले जनाएको छ ।
मतदान सुरु हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य नसकिएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा पु¥याउने कार्य गरेमा छ महिनासम्म कैद वा २५ हजार रुपैयाँ जरिबाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।
त्यसैगरी मतदान केन्द्र रहेको घर, भवन वा स्थानमा मतदानलाई असर पार्ने गरी त्यसको वरिपरिको कुनै निजी वा सार्वजनिक घर, भवन वा जग्गामा शान्ति भङ्ग गर्न वा भय, त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न वा गराउन पाइने छैन।
मतदान नसक्दासम्म बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज भतेर गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुल हुज्जत वा होहल्ला गर्न वा गराउन पाइने छैन । मतदान भइरहँदा चुनाव प्रचारका काम समेत गर्न पाइने छैन। त्यो प्रत्यक्ष वा भर्चुअल दुवै माध्यममा गर्न निषेध गरिएको छ ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले मतदान केन्द्र तोकेपछि ३०० मिटर आसपास कसैले पहिले प्रचार सामग्री राखेका भए त्यसलाई हटाउन भनिसकिएको बताउँछन् । यस्तै निर्वाचन आयोगले मतदाताले गोपनीयता भङ्ग गर्ने काम गरेमा १५ हजार रुपैयाँसम्म जरिबाना गराउन सक्ने उल्लेख गरेको छ ।
मतदाताहरूको सहजताका निम्ति मतदानको दिन गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी, तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) मतदाताले लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्न पाउँछन् ।
आज प्रतिनिधिसभा चुनावको लागि देशभर मतदान जारी छ । मतदान केन्द्रमा मतदाताको चहलपहल बढ्दो छ । प्रत्यक्ष प्रणालीतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सांसद चुन्न मतदान शुरू भएको हो । बिहान ७ बजे बजेदेखि शुरू भएको मतदान बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ ।
बेलुकी ५ बजेसम्म मतदानस्थलमा प्रवेश गरेका मतदाताले मत दिन पाउनेछन् । देशभर १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन् । प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ र समानुपातिकतर्फ ३ हजार १ सय ३५ उम्मेदवार छन् । सरकारले चुनावको लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाएकाले ढुक्कसँग मतदानमा सहभागी हुन आग्रह गरेको छ ।
चुनावको सुरक्षाका लागि मतदान केन्द्रको बाहिरी घेरामा नेपाली सेना खटाइएको छ । विगतका चुनावको सुरक्षा विश्लेषण र वर्तमान अवस्थाको मूल्याङ्कनका आधारमा ३ हजार ६ सय ८० मतदानस्थललाई ‘अति संवेदनशील’को सूचीमा राखिएको छ । ४ हजार ४ सय ४२ मतदानस्थललाई ‘संवेदनशील’ र २ हजार ८ सय ४५ मतदानस्थललाई ‘सामान्य’ श्रेणीमा राखिएको छ ।
अब नयाँ निर्वाचनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई विस्थापित गर्दै नयाँ सरकार गठनको बाटो खोल्ने छ भने गएको भदौमा संसद् विघटनपछि देखिएको जनप्रतिनिधिमुलुक सङ्घीय निकायको रिक्ततालाई पूर्ति गर्ने छ ।
भदौमा जेन जी आन्दोलनका क्रममा भएको बल प्रयोग र त्यसको भोलिपल्ट आन्दोलनकारीद्वारा गरिएको विध्वंसपछि भैरहेको यो निर्वाचनलाई संविधानलाई पुनः आफ्नो मार्गमा ल्याउने दिशातर्फको एउटा महत्त्वपूर्ण कदम भनेर विज्ञहरूले भनिरहेका छन् ।
यस पटक मतदाता सूचीमा रहेका एक करोड ८९ लाखभन्दा बढी मतदातामध्ये १० लाख भन्दा धेरै जेन जी आन्दोलनपछि थपिएका मानिएको छ । यस्तै मतदान हुने अघिल्लो दिनसम्म झन्डै आठ लाख नागरिकहरू भोट खसाल्न राजधानीबाट आफ्ना निर्वाचन क्षेत्रहरूमा फर्किएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।
धेरैले एउटा ठूलो विध्वंसपछि छ महिनामा चुनाव हुन लाग्नु आफैँमा एउटा दुर्लभ घटना भनेका छन् । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १६५ र समानुपातिक प्रणालीतर्फ ११० गरी २७५ सीटका लागि हुने यो निर्वाचनमा ६,५०० भन्दा बढी उम्मेदवारहरू प्रतिस्पर्धामा छन् ।
यसपटक विशेषगरी युवाहरुले ’नियमित’ निर्वाचित सरकार र सक्षम नयाँ अनुहारहरू संसद्मा आएको हेर्न आफूले चाहेको बताएका छन् । उनीहरु भन्छन्, “अहिले अवस्था सामान्य भइसकेको छ र हाम्रो अपेक्षा शासन व्यवस्था नियमित सरकारको हातमा पुगोस् भन्ने छ । नयाँ अनुहारहरू पनि हेर्न चाहन्छौं तर त्यो भनेको असक्षम र अयोग्य खालको होइन।“
आन्दोलनमा आफूहरूले उठाएका मागहरू सम्बोधन गरिनुपर्ने उल्लेख गर्दै युवाहरु भन्छन्, “सदनमा जाने बाटो तय गर्नुभएकाहरू निर्वाचनमा होमिइरहनुभएको छ तर अरू साथीहरूलाई सडक सधैँ रहि नै रहन्छ। प्रश्न गर्नलाई र सन्तुलन कायम राखिराख्न त्यो ठाउँ छँदै छ।“
ता विज्ञहरुले पनि अहिलेको चुनाव असाध्यै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यो चुनाव विफल हुँदा देश नै विफल हुन सक्ने परिस्थिति रहेको बताएका छन् । जेन जी आन्दोलनबाट जहाँ पुगियो, त्यसलाई सफलतापूर्वक अवतरण गर्ने महत्त्वपूर्ण कडीको रूपमा यो निर्वाचनलाई लिइएको छ ।
चुनाव नभएको भए संविधान नै लड्खडाउने परिस्थिति आउन सक्थ्यो । त्यसकारण अहिले राज्यव्यवस्था सञ्चालन गर्ने जनताको प्रतिनिधिमुलक निकाय स्थापित गर्न आज चुनाव भइरहेको हो । र विगतका निर्वाचित संसद्हरूभित्र कैयौँ विकृतिहरू देखिए पनि यस पटक परिस्थिति फेरिन सक्ने आकलन गरिएको छ ।
तर अस्थिरताको उत्तिकै जोखिम रहेको छ । किनभने जबसम्म अनैतिक ढङ्गले राजनीति गर्ने परिपाटी रहिरहन्छ, तबसम्म यसको निराकरण सम्भव छैन । धुत्र्याइँ, बेइमानीको आधारमा जब राजनीति सञ्चालन हुन्छ, जस्तोसुकै संविधान बनाए पनि समाधान निस्किदैन । त्यसैले आज चुनावमा उमेद्वार भएकाहरु पनि देश र जनताप्रति र आफ्नो कर्म, निष्ठाप्रति इमान्दार हुनुपर्छ ।
यस्तै आज मतदानहरुले पनि सही उमेद्वारलाई चुन्नु पर्छ । कुनै किसिमको प्रभाव, हिजोको धंगधंगी वा अहिले लहलहैमा नलागी सोचिविचारीकन राम्रो, सक्षम उमेदवारलाई भोट हाल्न र सबै मतदाताहरुलाई निर्वाचनमा सहभागी हुन हामी विशेष अनुरोध पनि गर्दछौं । नेपाल टाइम्स हेर्दै गर्नुहोला नमस्कार ।