२८ फागुन , काठमाण्डौ।
विदेशबाट आउने रेमिट्यान्समा उल्लेख्य वृद्धि भएपछि नेपालको अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२÷८३ को सात महिनाको तथ्यांक अनुसार माघ महिनासम्म रेमिट्यान्स आप्रवाह झण्डै ४० प्रतिशतले बढेको छ। यस अवधिमा मात्रै १२ खर्ब ६१ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ।
रेमिट्यान्स बढेसँगै विदेशी मुद्रा सञ्चिति पनि उल्लेख्य रूपमा बढेर ३३ खर्ब रुपैयाँ नाघेको छ। तर, अर्कोतर्फ पुसको तुलनामा माघ महिनामा उपभोक्ता मूल्यवृद्धि भने केही बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२÷८३ को सात महिना तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय स्थिति अनुशार चालु आव माघमा रेमिट्यान्स आप्रवाह ३९.८ प्रतिशत बढेको तथ्यांक केन्द्रीय बैंकले सार्वजनिक गरेको छ ।
चालु आव पुसमा ३९.१ प्रतिशत बढेको थियो । पुसमा मात्रै १ खर्ब ९२ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएकोमा माघमा सामान्य बढेर १ खर्ब ९८ अर्ब पुगेको हो । तर, गत आव सोही अवधिको तुलनामा हरेक महिनाको रेमिट्यान्स आप्रवाह ४० प्रतिशत हाराहारीमा देखिएको हो । माघसम्म १२ खर्ब ६१ अर्ब १ करोड बराबर रेमिट्यान्स स्वदेश आएको छ ।
यो रेमिट्यान्स गत आव सोही अवधिको तुलनामा ३९.८ प्रतिशत धेरै हो । गत आव माघमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले बढेको थियो । गत माघमा विप्रेषण आप्रवाह १ खर्ब ९८ अर्ब ८ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आव माघमा १ खर्ब ३७ अर्ब ५० करोड रेमिट्यान्स आएको थियो ।
चालु आव माघमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३३ प्रतिशत वृद्धि भई ८ अर्ब ८६ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आप्रवाह ५.५ प्रतिशत बढेको थियो । यस्तै चालु आव माघसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ४५ हजार १ सय ५३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख २७ हजार ४ सय २४ छ ।
गत आव सोही अवधिमा यस्तो संख्या २ लाख ७४ हजार ६ सय २२ र १ लाख ९० हजार ८ सय ८६ थियो । यस्तै राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको वित्तीय विवरणअनुसार माघमा उपभोक्ता मूल्यवृद्धि ३.२५ प्रतिशत रहेको छ । पुसमा २.४२ प्रतिशत मात्रै थियो । अघिल्लो वर्षको माघको तुलनामा भने यो माघको मूल्यवृद्धि न्यून हो ।
अघिल्लो वर्षको माघमा उपभोक्ता मूल्यवृद्धि ४.१६ प्रतिशत थियो । यो माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि २.५०, गैर–खाद्य तथा सेवा समूहको ३.६६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८२÷८३ को सात महिनाको औसत मूल्यवृद्धि जम्मा १.९२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मूल्यवृद्धि ४.८६ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क सबैभन्दा धेरै ११.६३ प्रतिशत बढेको छ । घ्यू तथा तेलको ७.६१ प्रतिशत र फलफूलको ७.४१ प्रतिशतले बढेको छ ।मुलुकसँग विदेशी मुद्रा सञ्चिति ३३ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको ७ महिना अवधिमै यस्तो सञ्चिति २३.३ प्रतिशतले बढेको हो ।
असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब रुपैयाँ बराबर रहेको सञ्चिति रकम माघ मसान्तसम्म आउँदा ३३ खर्ब २ अर्ब रुपैयाँ बराबर पुगेको हो । विवरणअनुसार सोही सात महिना अवधिमा अमेरिकी डलरमा मुद्रा सञ्चिति १६.७ प्रतिशतले बढेर माघ मसान्तसम्म २२ अर्ब ७६ करोड डलर बराबर छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २९ खर्ब २६ अर्ब ९९ करोड छ भने बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग ३ खर्ब ७५ अर्ब ६७ करोड रुपैयाँ बराबर छ । हाल रहेको मुद्रा सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
हालको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २१.३ महिनाको वस्तु आयात र १८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ । चालु आर्थिक वर्ष माघसम्म शोधनान्तर स्थिति पौने ६ खर्बले बचतमा छ । उक्त अवधिमा चालु खाता बचतमा सुधार आएसँगै शोधनान्तर बचत पनि बढेको हो माघसम्म ४ खर्ब ९३ अर्ब ७८ करोडले शोधनान्तर स्थिति बचतमा छ ।
गत आव सोही अवधिमा चालु खाता १ खर्ब ८४ अर्ब १४ करोड बचतमा थियो । अमेरिकी डलरमा गत आव सोही अवधिमा १ अर्ब ३७ करोडले बचतमा रहेको चालु खाता चालु आव सात महिनासम्म ३ अर्ब ४७ करोडले बचतमा पुगेको हो । चालु आव माघसम्म खुद पूँजीगत ट्रान्स्फर ११ अर्ब ४३ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।
गत आव सोही अवधिमा ५ अर्ब ८३ करोड थियो । यसैगरी गत माघमा १० अर्ब २२ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत आव सोही अवधिमा ७ अर्ब ४३ करोड थियो । चालु आव सात महिनासम्म शोधनान्तर स्थिति ५ खर्ब ७२ अर्ब ७३ करोड बचतमा छ ।
गत आव सोही अवधिमा २ खर्ब ८४ अर्ब ४१ करोड बचतमा थियो । अमेरिकी डलरमा गत आव माघसम्म २ अर्ब ११ करोड बचतमा रहेको शोधनान्तर स्थिति चालु आव सोही अवधिमा ४ अर्ब ३ करोड बचतमा छ ।