१४ साउन , काठमाण्डौ ।
आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा लगातार चारै खेलमा पराजय बेहोरेसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीको शीर्ष चारमा रहँदै ग्लोबल क्वालिफायर पुग्ने सम्भावना अत्यंत कठिन बनेको छ ।
पछिल्लो नतिजाहरूले नेपालको यात्रालाई थप पेचिलो बनाइदिएपछि अब नेपाली टोलीको सम्पूर्ण रणनीतिमा फेरबदल आएको छ।नेदरल्यान्ड्ससँगको यस हारसँगै आइसिसी क्रिकेट विश्वकप लिग २ मा नेपालको शीर्ष चारमा पर्ने सम्भावना लगभग समाप्त भएको छ।

यसले टोलीको आगामी यात्रालाई थप चुनौतीपूर्ण बनाइदिएको छ। यही परिस्थितिलाई मध्यनजर गर्दै कप्तान रोहित पौडेलले अबको मुख्य लक्ष्य शीर्ष ६ भित्र सुरक्षित रहेर ओडिआई (एकदिवसीय) मान्यता जोगाउनु रहेको स्पष्ट पारेका छन्।
जारी प्रतियोगितामा ३२ खेलबाट २४ अंक जोडेको नेपाल हाल अंक तालिकाको छैटौं स्थानमा झरेको छ।शीर्ष चारमा स्थान बनाउने गणितीय र झिनो सम्भावना बाँकी रहे पनि, अबका खेलहरूमा आउने एक हारले समेत त्यो ढोका सधैंको लागि बन्द गर्नेछ।
तसर्थ, अब नेपालको प्रमुख र यथार्थपरक ध्यान शीर्ष चार भन्दा पनि शीर्ष ६ भित्र सुरक्षित रहेर ओडिआई मान्यता जोगाउने तर्फ केन्द्रित भएको छ।नेदरल्यान्ड्सविरुद्धको खेलपश्चात् होस्ट ब्रोडकास्टरसँग कुरा गर्दै कप्तान रोहित पौडेलले वर्तमान परिस्थितिलाई स्पष्ट रूपमा उजागर गरेका छन्।
टोलीको आगामी योजनाबारे बोल्दै उनले ओडिआई मान्यता बचाउनका लागि अब आफूहरूसँग अन्तिम सिरिज बाँकी रहेको र शीर्ष ६ मा पर्नु नै मुख्य लक्ष्य भएको बताएका छन्। उनले अन्तिम ४ खेलहरू टोलीका लागि अत्यन्त महत्त्वपूर्ण रहेको र त्यसका लागि तयारी पनि सोही अनुरूप हुने बताएका छन्।
साथै, उनले टोलीमाथि आफ्नो पूर्ण विश्वास रहेको र आगामी खेलहरूमा अझ बलियो रूपमा पुनरागमन गर्ने दृढता व्यक्त गरेका छन्।सन् २०२४–२६ को यो लिग २ साइकलमा उत्कृष्ट आठ एसोसिएट राष्ट्रहरूले प्रतिस्पर्धा गरिरहेका छन्।
प्रतियोगिताको नियम अनुसार शीर्ष चारमा रहने राष्ट्रहरूले सिधै ओडिआई विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान पक्का गर्नेछन् भने पुछारका चार राष्ट्रले ग्लोबल क्वालिफायर प्लेअफ खेल्नुपर्ने प्रावधान छ।
यसका साथै, लिग २ को शीर्ष ६ भित्र पर्न सफल हुने टोलीहरूको ओडिआई मान्यता समेत कायम रहनेछ। नेदरल्यान्ड्समा सम्पन्न पछिल्लो सिरिजमा नेपालले खेलेका सबै चारै खेलमा हार बेहोर्दै एक अंक पनि जोड्न सकेन।
सम्भावित ८ अंक गुमाएपछि यसले नेपालको समग्र अंक तालिकामा गम्भीर असर पारेको छ। शीर्ष चारमा पर्नका लागि नेपालले आफ्ना बाँकी सबै चार खेलहरूमा फराकिलो जित निकाल्नुका साथै अन्य प्रतिस्पर्धी टोलीहरूको नतिजा पनि पूर्ण रूपमा नेपालकै अनुकूल आउनुपर्नेछ।
यदि ओमानले बाँकी ८ खेलमध्ये मात्र एक खेलमा जितेमा वा नेपाल आफ्नो आगामी कुनै एक खेलमा पराजित भएमा पनि नेपालको शीर्ष चारको समीकरण सधैंको लागि अन्त्य हुनेछ। नामिबियासँगका दुई खेलमा व्यहोरेको पराजयसँगै नामिबियाले नेपाललाई पछाडि पारेको छ।
३२ खेलबाट २४ अंक जोड्दै नेपाल हाल छैटौं स्थानमा सीमित भएको छ भने नामिबिया ३१ खेलबाट २५ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ। नेपालसँगै क्यानडाको पनि समान २४ अंक नै भए तापनि रनरेटका आधारमा क्यानडा नेपालभन्दा पछि रहेको छ।
यता, युएई भने २४ खेलबाट १४ अंकसहित अंक तालिकाको पुछारमा छ।यता, उत्कृष्ट प्रदर्शन गरिरहेको अमेरिका ३२ खेलबाट ४३ अंकसहित शीर्ष स्थानमा रहेर विश्वकपको ग्लोबल क्वालिफायरमा आफ्नो स्थान पक्का गरिसकेको छ।
त्यस्तै, नेपाललाई पराजित गरेको नेदरल्यान्ड्स ३१ खेलबाट ३८ अंकसहित दोस्रो स्थानमा उक्लिँदै ग्लोबल क्वालिफायरको नजिक पुगेको छ भने स्कटल्याण्डको पनि ३२ खेलबाट समान ३८ अंक नै रहेको छ।
ओमान भने २८ खेलबाट ३१ अंकसहित चौथो स्थानमा कायम छ। परिस्थितिको गम्भीरतालाई मध्यनजर गर्दै नेपाली टोलीले अब आफ्नो प्रदर्शनमा सुधार ल्याउँदै आगामी खेलहरूमा ओडिआई मान्यता जोगाउनुलाई नै आफ्नो सर्वोपरि प्राथमिकता बनाउनुपर्ने देखिएको छ।
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको निमिबिया र नेदरल्यान्ड्सविरुद्धको एकदिवसिय अन्तर्राष्ट्रिय शृंखला जितविहीन बन्दै टुंग्याएको छ । बुधबार नेपालले आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ५७ रनको हार व्यहोरेको हो ।
नेदरल्यान्ड्सको एभससी कोम्पोग क्रिकेट रंगशालामा घरेलु टोलीले प्रस्तुत गरेको २२६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ४८ ओभरमा सबै विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो । नेपालले यसअघि घरेलु टोली र नामिबियाविरुद्धको दुवै खेलमा पनि हार व्यहोरेको थियो ।
नेपाललाई सस्तैमा रोक्न नेदरल्यान्ड्सका काइल क्लेनले तीन विकेट लिए । लेगान भान बिक, रोइलोफ भान डेर मेर्वे र ज्याक लियोन च्याकेटले समान दुई विकेट लिँदा आर्यन डटले एक विकेट लिए । नेपालका लागि निम्ति ओपनर आशिफ खेशले ३८ रन बनाए ।
कप्तान रोहित पौडेलले २६, करन केसीले २३, आविजित रहेका हेमन्त धामीले १५, इशान पाण्डेले १६, गुल्सन झाले ११ र भिम शार्कीले १० बनाए । त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले नेपालविरुद्ध निर्भारित ५० ओभरमा नौ विकेट गुमाएर २२५ रनको योगफल खडा गरेको थियो ।
नेदरल्यान्ड्सका नोआ क्रोएसले सर्वाधिक ७० रनको योगदान गरे । उनले ९३ बलमा तीन चौका प्रहार गरे । कप्तान स्कट एड्वार्डसले ५७ रन जोडे । उनले ९१ बलमा तीन चौका प्रहार गरे । यसैगरी, लोगन भान बिकले २७, ज्याक लियोन क्याशेले १६, बास डे लिडेले १३ र म्याक्स ओ’ डाउडले १२ रन बनाए ।
नेपालका करण केसीले चार, दीपेन्द्रसिंह ऐरी दुई तथा हेमन्त धामी र ललितनारायण राजवंशीले समान एक–एक विकेट लिए । नेपालले यसअघि नामिबियाविरुद्ध दुई र नेदरल्यान्ड्विरुद्ध एक खेल खेल्दा सबै खेलमा हार व्यहोरेको थियो ।
जितसँगै नेदरल्यान्ड्स लिग २ को दोस्रो स्थानमा उक्लिएको छ । ३८ अंक बनाएको टोलीले ३१ खेलमा १७ जित र १० हार व्यहोरेको छ भने टोलीको चार खेल रद्द भएको छ । हारसँगै नेपाल भने २४ अंकमा सीमित भएको छ । शृङ्खलाका चारै खेलमा पराजित भएको नेपालको घरबाहिर यो लगातार आठौं हार हो ।




