५ जेठ , काठमाण्डौ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन आज चीन भ्रमणमा जाँदै छन् । उनको भ्रमणलाई लिएर चीनले उत्सुकता प्रकट गरेको छ । चीन र रूसबीच रणनीतिक साझेदारीको ३० औं वर्षगाँठ मनाइँदै गर्दा दुई देशबीचको सहकार्य निरन्तर गहिरो र सुदृढ भएको चिनियाँ राष्ट्रपति सी जिनपिङले नै बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण भएको एक साता नबित्दै पुटिन पनि बेइजिंग पुग्न लागेका हुन् । सोही कारण पनि उनको यो भ्रमणले विश्व कूटनीतिको केन्द्रविन्दुमा रहेको देखाएको चीनले दाबी गरेको छ । ’यस प्रकारका लगातार भइरहेका भ्रमणहरूले व्यापक ध्यान आकर्षित गरेका छन् ।
विश्लेषकहरूका अनुसार शीतयुद्धपछिको युगमा कुनै एउटा देशले एकै हप्ताभित्र अमेरिका र रूसका नेताहरूलाई पालैपालो स्वागत गर्नु अत्यन्तै दुर्लभ घटना हो,’ चिनियाँ कम्युनिष्ट पार्टीको अंग्रेजी मुखपत्र ग्लोबल टाइम्सले सोमबार उल्लेख गरेको छ ।
रूससँग चीनको गहिरिँदै गएको सम्बन्ध विशेष गरी सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेयता पश्चिमा देशहरूका लागि चिन्ताको विषय बनेको छ। पश्चिमा कूटनीतिज्ञ र विश्लेषकहरूका अनुसार त्यसयता चीनले रूसलाई दिएको आर्थिक र कूटनीतिक समर्थनले यस द्वन्द्वलाई टिकाइराख्न मद्दत पु¥याएको छ ।
सी र पुटिनबीच ४० भन्दा बढी पटक भेटवार्ता भइसकेको बेलायती पत्रिका द गार्डियनले लेखेको छ । सीको पश्चिमा नेताहरूसँग भएका भेटहरूको तुलनामा यो निकै नै बढी हो । सन् २०२२ यता चीन र रूसको द्विपक्षीय व्यापार कीर्तिमानी स्तरमा पुगेको छ । चीनले रूसको कुल निर्यातको एक–चौथाइभन्दा बढी हिस्सा खरिद गर्ने गरेको छ ।
चीनले रूसी कच्चा तेल ठूलो मात्रामा खरिद गर्दा पुटिनलाई युक्रेन युद्ध धान्नका लागि अर्बौं डलर प्राप्त भएको छ । गत हप्ता ट्रम्प र सीबीच भएको कुराकानीमा युक्रेन युद्ध र चीन–रूस सम्बन्धले दुवैले खासै प्राथमिकता नपाएको देखियो। मुख्य द्विपक्षीय बैठकको बारेमा चीनले जारी गरेको विज्ञप्तिमा ’युक्रेन संकट’ को संक्षिप्त उल्लेख मात्र गरिएको थियो भने अमेरिकी विज्ञप्तिमा यसको कुनै चर्चा नै थिएन ।
त्यसको सट्टा, अमेरिका–चीन वार्ता मुख्य रूपमा व्यापार, ताइवान र मध्यपूर्वको युद्धमा केन्द्रित भएको देखिन्थ्यो । यसैबीच सी र पुटिनले आइतबार बधाई सन्देश समेत आदानप्रदान गरेका छन् । पुटिनको बेइजिङ भ्रमण मंगलबार र बुधबारका लागि तय गरिएको छ ।
सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयरले संकलन गरेको तथ्यांक अनुसार, पूर्ण आक्रमण सुरु भएदेखि बेइजिङले ३६७ अर्ब डलरभन्दा बढीको रुसी जीवाश्म इन्धन खरिद गरेको छ । यस खरिदले चीनको ऊर्जा सुरक्षालाई टेवा पुर्याएको छ जुन पश्चिम एसियाको संकटले होर्मुज जलयोजकबाट हुने तेलको ढुवानी रोकेपछि विशेष रूपमा महत्त्वपूर्ण भएको छ ।
गत साता ट्रम्प र सीबीचको वार्तामा न त युक्रेन युद्ध, न त चीन–रुस सम्बन्धले नै प्रमुखता पाएको देखिएको छ । मुख्य द्विपक्षीय बैठकको बारेमा चिनियाँ विज्ञप्तिले युक्रेन संकटको संक्षिप्त उल्लेख गरे पनि अमेरिकी विज्ञप्तिले यसको बारेमा केही पनि बोलेको छैन ।
एट्लान्टिक काउन्सिलका सिनियर फेलो जोसेफ वेबस्टरले एक न्युजलेटरमा सी–पुटिन बैठकको पृष्ठभूमिमा ताइवान मुद्दा हुन सक्ने बताएका छन् । वेबस्टरका अनुसार, भविष्यमा हुन सक्ने द्वन्द्वको अवस्थामा ऊर्जा आपूर्ति सुनिश्चित गर्न बेइजिङले मस्कोसँग थप जीवाश्म इन्धन सम्झौताहरू गर्न खोजिरहेको हुन सक्छ ।
चीनतर्फको रुसी तेल पाइपलाइन क्षमता विस्तारले ताइवानको आकस्मिक द्वन्द्वको अवस्थामा बेइजिङको तेल सुरक्षालाई उल्लेख्य रूपमा वृद्धि गर्नेछ, वेबस्टरले लेखेका छन् । रुसले चीनलाई पावर अफ साइबेरिया २ ग्यास पाइपलाइन अघि बढाउन दबाब दिइरहेको छ जसले दुई देशबीचको वर्तमान नेटवर्कमा ५० अर्ब घनमिटर क्षमता थप गर्नेछ ।
पुटिनले चिनियाँ प्रधानमन्त्री ली छियाङसँग आर्थिक र व्यापारिक सहयोगको बारेमा पनि छलफल गर्ने कार्यक्रम छ । यसअघि राष्ट्रपति ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण गरेका थिए । वासिङटन र बेइजिङको सम्बन्ध तनावले घेरिएको अवस्थामा हालैका महिनामा चीन–रुस सम्बन्ध गहिरो भएको देखिन्छ ।
यी दुई औपचारिक सैन्य सहयोगी नभए पनि तिनीहरूले अत्यन्तै घनिष्ट राजनीतिक र आर्थिक सम्बन्ध कायम राखेका छन् । पश्चिमा राष्ट्रहरूले मस्कोसँग सम्बन्ध तोडेपछि चीनले रुसी तेल र सामानहरू किन्नका लागि कदम चालेको छ । गत अगस्टमा चीनको चारदिने भ्रमणअघि पुटिनले ‘भेदभावपूर्ण’ पश्चिमी प्रतिबन्धको निन्दा गरे र बेइजिङको प्रशंसा गरे ।
चीन अहिले मात्राको हिसाबले रुसको सबैभन्दा ठुलो व्यापारिक साझेदार हो, र लेनदेन लगभग पूर्ण रूपमा रुसी रूबल र चिनियाँ युआनमा गरिन्छ । चीन अहिले परिमाणको हिसाबले रुसको सबैभन्दा ठुलो व्यापारिक साझेदार हो, र लेनदेन लगभग पूर्णतया रुसी रूबल र चिनियाँ युआनमा गरिन्छ ।
गत महिना, सीले रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँगको भेटमा बेइजिङ र मस्कोबिच ‘निकट’ र बलियो रणनीतिक समन्वयका लागि जोड दिए । सीले गत वर्ष मे महिनामा पनि रुसको भ्रमण गरेका थिए र ‘एकपक्षीयता र प्रभुत्ववादी धम्की’ विरुद्ध मस्कोको साथ उभिने वाचा गरेका थिए ।
यसैबीच युक्रेनको ओडेसा क्षेत्रका बन्दरगाह नजिक ड्रोन आक्रमण हुँदा चिनियाँ स्वामित्वको मालवाहक जहाज क्षतिग्रस्त भएको छ । यो घटना पुटिन बेइजिङ जानुअघि भएको हो । युक्रेन स्पोट्र्स अथोरिटीका अनुसार सोमबार भएको आक्रमणमा दुई नागरिक जहाजलाई निशाना बनाइएका थिए ।
तीमध्ये एउटा मार्सल आइल्यान्ड्सको झन्डा बोकेको र अर्को गिनी–बिसाउको झन्डा बोकेको जहाज रहेको बताइएको छ । युक्रेनी नौसेनाका अनुसार प्रभावित जहाजमध्ये केएसएल देयाङ पनि रहेको छ, जुन चिनियाँ स्वामित्वमा रहेको र मार्सल आइल्यान्ड्सको झन्डामुनि सञ्चालन भइरहेको मालवाहक जहाज हो । आक्रमणपछि जहाजको एक भाग जलेको तस्बिर सार्वजनिक गरिएको छ ।
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत रुसले बन्दरगाह क्षेत्र लक्षित गर्दै नागरिक जहाजमाथि आक्रमण गरेको आरोप लगाएका छन् । उनका अनुसार आक्रमणका क्रममा जहाजमा कुनै पनि चालक दल सदस्य घाइते भएका छैनन् । युक्रेनी नौसेनाका प्रवक्ताले जहाजमा रहेका सबै चालक दल चिनियाँ नागरिक भएको र उनीहरू सुरक्षित रहेको बताएका छन् ।
साथै जहाज आक्रमणपछि पनि आफ्नो गन्तव्यतर्फ अघि बढिरहेको जनाइएको छ । रिपोर्टअनुसार उक्त जहाज आक्रमणको समयमा खाली थियो र पछि ओडेसा क्षेत्रको पिभ्डेनी बन्दरगाहमा फलाम खनिज लोड गर्न जाने तयारीमा थियो। विश्लेषकहरूका अनुसार ओडेसा क्षेत्र युक्रेनको कृषि तथा निर्यातका लागि अत्यन्त महत्त्वपूर्ण समुद्री मार्ग हो । जहाँ युद्ध सुरु भएयता बारम्बार आक्रमण भइरहेका छन् ।



