काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हिउँदमा विद्युत आपूर्ति सहज बनाउन आवश्यक तयारी भइरहेको बताएका छन्। रास्वपा पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको बाढीबाट विद्युत् पूर्वाधारमा क्षति पुग्दा करिब १० प्रतिशत विद्युत् प्रणालीबाट बाहिर गएको बताए। त्यसका कारण राष्ट्रिय प्रसारण लाइनमा चाप परे पनि नेपाल विद्युत् प्राधिकरणले प्रणाली सन्तुलनमा राखिरहेको उनको भनाइ छ।
हिउँदमा विद्युत्को माग बढ्ने भएकाले सम्भावित जोखिम पहिचान गरी आपूर्ति व्यवस्थापनका लागि प्राविधिक तयारी भइरहेको श्रेष्ठले बताए। उनले नुवाकोटमा बाढीपछि २४ घण्टाभित्रै विद्युत् सेवा पुनः सञ्चालन गरिएको र रसुवामा पनि हालै विद्युतीकरण भएको जानकारी दिए। आगामी सुख्खायाममा विद्युत् आपूर्ति कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा प्राविधिक तहबाट तयारी भइरहेको उनले बताए।



