कात्तिक २७ : चाडपर्वमा हामी मनलाग्दो खान्छौं । आफन्त, इष्टमित्रकहाँ आयोजना गरिने जमघट र भोजभत्तेरले पनि हाम्रो पेट खाली राख्न दिदैनौँ, आवश्यकता भन्दा बढी खाइदिन्छौं ।
त्यसैले खानपानमा ध्यान दिन आवश्यक छ । अस्वस्थ खानेकुराको सेवनले पेट दुख्न सक्छ । कुनै स्वास्थ्य समस्याको कारणले पनि पेट दुख्ने गर्छ ।
यस्तो अवस्थामा पेटको दुखाईलाई ठिक गर्न के गर्ने ?
खानपानमा ध्यान दिने, पर्याप्त पानी पिउने, अस्वस्थ्यकर, बासी, चिल्लोचाप्लो, मसलेदार खानेकुराबाट बच्ने गर्नुपर्छ । यात्राका क्रममा जथाभावी खानेकुरा सेवन नगर्ने । संभव भएसम्म घरमै बनाएर लगेको खानेकुरा सेवन गर्ने ।
खानपानमा सर्तकता
पेट दुखेको बेलामा खानेकुरामा पनि ध्यान दिनुपर्छ । विशेषगरी कस्ता खानेकुरा खाने र कस्ता खानेकुरा नखाने भन्ने जानकारी हुन जरुरी छ । किनभने केही खाद्यपदार्थहरुको सेवन यो अवस्थामा हानीकारक हुन सक्छ ।
पेट दुखेको बेलामा हामीले घरमै सादा, चिल्लो पिरो र मसाला कम भएकको ताजा खानेकुरा बनाएर खानुपर्छ । होटल र बाहिरको खाना सेवन गर्दा पेट दुख्ने समस्या झनै बढ्न सक्छ ।
– मसालेदार खाना
मसालेदार खाना खानाले पेटमा दुखाई र पेट पोल्ने समस्यालाई अझै गम्भिर बनाउँछ । चिल्लो र धेरै पिरोयुक्त खानेकुरा खानाले पेट दुखेको बेलामा झनै गाह्रो बनाउँछ । यसैले मसालेदार खानाको सेवन पेट दुखेको बेलामा नगर्नुहोस् । भुटेको तारेको मासु, चाउमिन जस्ता खानेकुरा नखानुहोस् ।
– एसिडयुक्त खाद्यपदार्थ
एसिडयुक्त खाद्यपदार्थ जस्तै भुँइकटहर, सुन्तला र टमाटर आदीको सेवन नगर्नुहोस् । यसले तपाईंको पेट दुख्ने समस्यालाई अझै बढाउन सक्छ । त्यसैले यसको सेवन गर्नबाट बच्नुहोस् ।
– प्रशोधित खाना
प्रशोधित खानामा धेरै केमिकलहरु हुन्छन् साथै यो छिट्टै पच्दैन पनि । पेट दुखेको समयमा तपाईंले प्रसोधित खानेकुरा खानु हुँदैन ।
– क्याफिनको सेवन
पेट दुखेको बेलामा क्याफिनको सेवन गर्नु हानीकारक हुन्छ । यसैले पेट दुखेको बेला कफी लगायत अन्य क्याफिनयुक्त पेय पदार्थ सेवन नगर्नुहोस् ।
-उच्च फाइबरयुक्त खाद्यपदार्थ
धेरै फाइबर युक्त खानाको कारण तपाईंलाई धेरै दिशा लाग्ने समस्या निम्तन सक्छ सक्छ । यसैले पेट दुखेको बेलामा उच्च फाइबरयुक्त खानेकुराको सेवनबाट बच्नुपर्छ ।