टेकराज बन्जरा
विराटनगर, मंसिर ११
विराटनगर महानगरले अब्यबस्थित रुपमा विकास निर्माणका कामहरु गरेको भन्दै स्थानीयवासीले असन्तुष्टि ब्यक्त गरेका छन् । अहिलेको विकास निमार्णले आफूहरु आजित बनेको उनीहरुको भनाइ छ ।
अब्यबस्थित रुपमा सुस्त गतिले सडक तथा नाला निर्माण भएको तथा महानगरको काम गुणस्तरीय र सन्तोषजनक पनि नरहेको उनीहरु बताउछन् । विराटनगर –१० निवासी सुरेश मुखियाले काम ढिलो भएको र अब्यबस्थित रुपमा सडक, नाला बनाउँदा भएको धुलोको कारण बाहिर हिँड्न सक्ने अवस्था नरहेको बताए ।
त्यस्तै विराटनगर, जतुवाका प्रेम ठाकुरले कामहरु गुणस्तरीयताको कुनै ग्यारेन्टी नभएको बताए । उनले भने‘यो सडकको कुनै ग्यारेन्टी छैन, नगरपालिकाका मान्छेहरु चेक गर्न पनि आउँदैनन् । सबै ठेकेदारको हातमा छ ।’
विकास निर्माणका कामहरु सन्तोषजनक नरहेको स्थानियले बताईरहँदा संयुक्त टोल नगर समन्वय समितिका प्रमुख राजेश मास्केले पनि विराटनगरमा विकास निर्माणका कामहरु गुणस्तरीय नभएको र गुणस्तर कायम गर्न बारम्बार दबाब दिँदापनि सम्बन्धित निकायहरु मौन बस्ने गरेको गुनासो गरे ।
उनले गुणस्तरहीन काम भएको ठाउँमा गएर आफुले ती कामहरु नष्ट गर्दा पनि नटेरेको र त्यही काम दोहा¥याउने गरेको बताए । उनले भने ‘विराटनगरको विकास निर्माणका कुनैपनि काम गुणस्तरीय छैनन् , यदी कसैले गुणस्तरीय काम भयो भन्छ भने कुन ठाउँमा गुणस्तरीय काम भयो भनेर हामी उनीहरुलाई चुनौती दिन तयार छौँ’।
मास्केले महानगरमा कुनैपनि माथिल्लो निकाय आउँदा अलिकति राम्रो काम भएको ठाउँमा देखाउने तर टोल विकास संस्थालाई अनुगमनमा लिएर नजाने गुनासो गरे ।
विराटनगर महानगरपालिका भित्र अहिले सडक सञ्जाल तथा नाला निर्माणको काम धमाधम भईरहेको छ । वर्षातको पानीको ढल नाला निर्माण गर्ने, सडक छेउको नाला निर्माण, ढल प्रणाली निर्माण र सडक निर्माण अनि फोहोर पानी प्रशोधन प्रणाली निर्माणका कामहरु गर्दै गरेको मझौला शहर एकिकृत वातावरणीय सुधार परियोजनाको काम अन्तिम चरणमा रहेकोे छ ।
यही मंसिर महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको सो परियोजनाको कात्तिक मसान्तसम्ममा ९९ प्रतिशत काम सकिएको छ । एसियाली विकास बंैकको सहयोगमा २ अर्ब ९५ करोड ७२ लाखमा निर्माण सम्झौता भएको सो परियोजनाको सिटिसिई कालिका जेभीले निर्माणको जिम्मा पाएको छ ।
त्यस्तै एसियाली विकास बंैककै सहयोगमा २०१९ नोभेम्बर १ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिई २ नोभेम्बर २०१७ बाट सडक तथा ढल निर्माणका कामहरु थालिएको हो । सो परियोजना सम्पन्न गर्न २ अर्ब ६१ करोड १० लाखमा चाइनिज कम्पनी झोङहेङ कन्ट्रक्सन बेजिङले सम्झौता गरेको छ ।
परियोजनाका कामहरु गुणस्तरीय र सन्तोषजनक तरिकाले भईरहेको जानकारी दिँदै विराटनगर महानगरपालिकाका प्रमुख इन्जिनियर तथा परियोजना ब्यवस्थापक भरतकुमार न्यौपानेले यस आर्थिक वर्षभित्र ९० प्रतिशत भौतिक प्रगति गर्ने लक्ष्य रहेको बताए ।
उनले ७५ किमी पिच सडक निर्माण गर्ने योजना रहेको र १५ किलोमिटर निर्माण सम्पन्न भएको जानकारी दिँदै विराटनगरलाई परीयोजना क्षेत्रबाट धुलो धुवाँ मुक्त गर्ने योजना रहेको बताए ।
‘हाम्रा इञ्जिनियरहरु प्रत्येक साईटमा घुमिराखेका हुन्छन् , हामीपनि निर्माणमा हुन्छौँ , कुनै ठाउँमा हेल्चेक्राई भएको रहेछ भने त्यसलाई तत्कालै सुधार गर्न लगाएको अवस्था छ’ गुणस्तरको कुरा गर्दै उनले भने ‘गुणस्तर टेस्ट गरेर मात्र भुक्तानी प्रक्रियामा जाने हुँदा विकास निर्माणका काममा गुणस्तरहीन भएको मैले महसुस गरेको छैन ।’
सो परियोजनाअन्तर्गत निर्माण कम्पनीले विराटनगरको मेनरोडसहित अन्य २० दशमलव ८ किलोमिटर क्षेत्रमा ढलको पाइप विच्छयाउने, ५ सय८५ मिटर वर्षातको पानीको ठूलो नाला निर्माण गर्ने, ७३ कि.मि सडक निर्माण र २६ कि. मि सडक छेउको नाला निर्माण गर्नेछ । कात्तिक मसान्तसम्ममा उसले ३१ प्रतिशत मात्रै भौतिक प्रगति गरेको छ ।