एजेन्सी, मंसिर १२
च्याम्पियन्स लिगअन्तर्गत समूह एचको पाँचौ खेलमा युभेन्ट्सले भ्यालेन्सियालाई १–० ले पराजित गरेको छ ।क्रोएसियन फरवार्ड मारियो मान्जुकीचको निर्णायक गोलमा भ्यालेन्सियालाई पराजित गरेको हो ।
इटालियन च्याम्पियन युभेन्ट्सले खेलको ५९ औं मिनेटमा खेलको एकमात्र गोल गर्न सफल भयो । जोआओ क्यान्सेलोले भ्यालेन्सियाको क्षेत्रभित्र क्रिस्टियानो रोनाल्डोलाई पास दिएपछि रोनाल्डोले भ्यालेन्सियाका ग्याब्रिएल पाउलिस्टालाई छलाउँदै दिएको लो क्रसमा मान्जुकीचले सहजै गोल गरेका थिए ।
भ्यालेन्सियाले रक्षात्मक खेल प्रस्तुत गरेको थियो भने युभेन्ट्सको स्टार आक्रमणलाई केहि दबाब पारेको थियो । यो मान्जुकीचको पछिल्लो तीन खेलमा युभेन्ट्सका लागि तेस्रो गोल थियो । पहिलो हाफमा मान्जुकीच, रोनाल्डो र पाउलो डिबालाको जोडीले राम्रो प्रदर्शन गर्न सकेनन् । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपछि युभेन्ट्स विजयी रहेको हो ।

खेलको अन्तिम समयमा भ्यालेन्सियाले खेल बराबरी गर्ने सुवर्ण अवसर गुमायो । डियाखाबीले हेडरमा गरेको प्रयास हातमा लाग्दै गोल भएपछि रेफ्रीले त्यसलाई मान्यता दिएनन् । यस नतिजासँगै भ्यालेन्सियाको च्याम्पियन्स लिगको यात्रा भने समाप्त भएको छ । यद्यपी भ्यालेन्सियाले समूहको अन्तिम खेलमा जुनसुकै नतिजा हात पारेपनि युरोपा लिग भने खेल्नेछ ।
युभेन्ट्सले भने च्याम्पियन्स लिगको समूह चरणमा खेलेका पछिल्ला ७ मध्ये ६ खेलमा गोल खाएको छैन । यस सिजन युभेले ५ खेलमा ४ जित र १ हारसँगै १२ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ । भ्यालेन्सियाको ५ अंक रहेको छ ।
