विराटनगर,पुस १०
प्रदेश १ का १ सय विद्यालयमा तत्काल ई एजुकेशन सिस्टम लागू हुनेभएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दे सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालयले अहिलेको प्रविधि सुहाउँदो ई एजुकेशनको पाइलट प्रोजेक्ट मार्फत १ सय विद्यालयमा ई एजुकेशन सिस्टम लागू गर्ने तयारी गरिरहेको जानकारी दिएका हुन् ।
उनले विज्ञान र प्रविधिको अहिलेको युगमा पनि झोलामा पुस्तक बोकेर विद्यालय पठाउने परिपाटीको अन्त्यका लागि ई एजुकेशन अनिवार्य भएको बताए । यस वर्षको एसईई परीक्षाको लागि प्रश्नपत्र छपाईको काम सुरु भएको मन्त्रालयले जनाएको छ ।
गत वर्षको तथ्यांक अनुसार प्रदेशमा रहेका सामुदायिक ६ सय ५९ र संस्थागत ५ सय ७२ वटा विद्यालयका ८४ हजार २ सय ९० विद्यार्थीका लागि ९२ हजार उत्तरपुस्तीका छपाईका लागि जनक शिक्षासँग सहकार्य भइसकेको मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयले हालसम्म २ करोड ६५ लाख ४४ हजार खर्च गरेको छ भने ९८ करोड २२ लाख बजेट निकासा भएको जनाएको छ । मन्त्रालयको कूल बजेटको यो २७ दशमलव ३७ प्रतिशत हो । मन्त्रालयको कूल बजेट ३ अर्ब ६८ करोड ८७ लाख २५ हजार रहेको छ । आर्थिक वर्षको अन्त्य सम्ममा सबै बजेट खर्च हुने मन्त्री घिमिरेले जानकारी दिए ।