इलाम, पुस २७
चिकित्सा शिक्षा सुधारको माग गर्दै इलाममा १६ औं चरणको सत्याग्रहमा रहेका वरिष्ठ चिकित्सक गोविन्द केसीको अनसन तेस्रो दिन शुक्रबार पनि जारी रहेको छ । तेस्रो दिनसम्म आइपुग्दा डा. केसीको स्वास्थ्य अवस्था बिग्रन थालेको छ ।
बुधबारदेखि इलाममा अनसन थालेका डा. केसीको स्वास्थ्य अवस्था गएरातिदेखि बिग्रन थालेको हो । उनको रक्तचाप कम हुँदै गएको केसीको स्वास्थ्य जाँचमा खटिएका डा. रामकृष्ण आचार्यले जानकारी दिए ।
शरीरमा पसिना आउने तथा छाती दुख्ने भएपछि इलाम जिल्ला अस्पतालको चिकित्सकहरुको टोलीले उनको स्वास्थ्य परीक्षण गरेको थियो । चिकित्सकहरुले उनको शरीरमा चिनीको मात्रा घटेको हुनसक्ने अनुमान गरेका छन् ।
