काठमाडौँ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ठ पठाएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेसँगै नेपाली खेलाडीले दुई वर्षदेखिको तलब पाएका थिएनन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को पहलमा आइसिसीले दुई वर्षको खेलाडीको तलब एकमुष्ठ रु एक करोड २७ लाख ८७ हजार ७८२ पठाएको राखेपले जनाएको छ ।
‘हामीले आइसिसीबाट तलब पाउँदै आएका २१ खेलाडीसँग सम्झौता गरेर आइसिसीमा पठाएका थियौं । हिजो मात्र पैसा आएको छ’ राखेप सदस्य सचिव केशव विष्टले भने ।
सन् २०१७ र १८ मा नेपालका लागि खेलेका क्रिकेटरलाई ए, बी र सी गरी तीन श्रेणीमा राखिएको छ । त्यसअनुसार राखेपले प्रत्येक खेलाडीहरुसँग सम्झौता गरेर तलबका लागि आइसिसीमा पत्र पठाएको थियो ।
आइसिसीले ‘ए’ श्रेणीका लागि मासिक रु ३५ हजार, ‘बी’ श्रेणीका लागि रु २५ हजार र सी श्रेष्णीका खेलाडीलाई रु १५ हजार मासिक तलब उपलब्ध गराएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।