पर्यावरण संरक्षणमा जोड दिंदै विराटनगरमा प्रभातफेरी निकालिएको छ । प्रकृति मानव केन्द्रित जनअभियान नेपालको चौथो राष्ट्रिय सम्मेलनको अवसरमा झांकी सहित प्रभातफेरी निकालिएको हो ।
स्थानिय अतिथि सदनबाट निकालिएको प्रभातफेरीका सहभागिले गोश्वारा रोड,जिल्ला प्रशासन चोक,शहिद रंगशाला, कोशी अंचल अस्पतालबाट जलजला रोड,मेनरोडको परिक्रमा गर्दै फेरी अतिथि सदनमै पुगेर समापन भएको थियो । प्रभातफेरीका सहभागिले ‘पर्यावरणको संरक्षण गरौं’,‘प्रकृति मानवमैत्री शैक्षिक कार्यक्रम लागु गर’‘बैज्ञानिक बनको नांउमा भएका बन फडानी तथा काठ तस्करी यथाशीघ्र बन्द गरौं’ र ‘हावा हाम्रो प्राण हो यसलाई बिगार्नु अपराध हो’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
प्रभातफेरीमा प्रकृति मानव केन्द्रित जन अभियान नेपालको चौथो राष्ट्रिय सम्मेलनमा सहभागि हुन देशभरि सहित भारतबाट आएका प्रतिनिधि र विभिन्न स्कुलका विद्यार्थीहरुको सहभागिता थियो । तीन दिनसम्म चल्ने सम्मेलनमा बन बिनाशका कारण पर्यावरण र जलवायुमा परेको प्रतिकुल असर,अन्नबालीमा बिषादिको प्रयोग र जलबायु परिवर्तनका कारण ब्रम्हाण्डमा परेको असरका बिषयमा गहनतम छलफल हुने आयोजक संस्थका मोरङ अध्यक्ष मणिकुमार अज्र्यालले जानकारी दिए ।