एजेन्सी, चैत २०
टोकियो ओलम्पिक २०२० को दोस्रो चरणको छनोटअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोली म्यानमारसँग ३–१ ले पराजित भएको छ ।
म्यानमारले खेलको २४ औं मिनेटमा यी यी ओको गोलमा अग्रता लिएको थियो । नेपालकी कप्तान निरु थापाले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याइन् । म्यानमारले पहिलो हाफमा निकै आक्रमण गरेपनि नेपाली डिफेन्सले त्यसलाई विफल पार्न सफल भएको थियो ।
तर दोस्रो हाफमा म्यानमारले दुई गोल गर्न सफल भयो । दोस्रो हाफको सुरुवाती मिनेटमा नै म्यानमारका लागि विन थेंगी तुनले पेनाल्टीमा गोल गर्दै म्यानमार लाई अग्रता दिलाइन् । खेलको अन्तिम मिनेटमा तुनले नै म्यानमारको अग्रता बढाइन् । गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले क्रसमा आएको बल फुस्काएपछि तुनले खाली पोस्टमा गोल गरेकी थिइन् ।
यससँगै म्यानमार अंक तालिकाको शीर्ष स्थानमा छ । समूहको अर्को खेलमा भारतले इन्डोनेसियालाई २–० ले पराजित गरेको छ । अंक तालिका नेपाल भने पुछारमा पुगेको छ ।