काठमाडौं, वैशाख १४
लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । हडल्सफिल्डमाथि ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदान एनफिल्डमा गए राति भएको खेलमा लिभरपुलका लागि मोहम्मद सलाह र साडियो मानेले समान २–२ तथा नेवी केइटाले एक गोल गरे । पहिलो मिनेटमा नै नेवी केइटाले गोल गर्दै अग्रता दिलाए । २३औं मिनेटमा साडियो मानेले गोल गरे ।
पहिलो हाफको इन्ज्युरी समयमा सलाहले गोल गर्दा लिभरपुल तीन–शुन्यले अघि रह्यो । ६६औं मिनेटमा मानेले टिमका लाथि चौथो गोल थपे । ८३औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौ गोल गर्दै लिभरपुललाई ५–० अग्रता दिलाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र लिभरपुल विजयी भयो ।
लिभरपुलले म्यानचेस्टर सिटीलाई २ अंकले पछि पारेको छ । लिभरपुलको ३६ खेलबाट ९१ अंक छ भने एक खेल कम खेलेको सिटीको ८९ अंक छ । अब सिटीले बर्नलीसँग आइतबार प्रतिस्पर्धा गर्दैछ । जित हात पारे सिटी पुनः शीर्षस्थानमा फर्किनेछ । प्रिमियर लिगको उपाधि होड थप रोमाञ्चक बनेको छ ।
