३१ जेठ, विराटनगर। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफनो निर्वाचन क्षेत्रमा रहेको विराटनगरको वीरेन्द्र सभागृहको मर्मतकालागि पठाएको रकम फ्रिज हुने अवस्थामा पुगेको छ ।
सभागृहको मर्मतका लागि पण्डितको पहलमा आएको बजेट विराटनगर महानगरपालिकाले खर्च गर्न त्यति चासो नदिएपछि चार करोड रुपैयाँ फ्रिज हुने अवस्थामा पुगेको हो । महानगरपालिकाले आवश्यक पर्ने बजेट अपुग भएको बताउँदै खर्च गर्न आलटाल गरेको छ । विराटनगरको ऐतिहासिकता बोकेको एक मात्र सभागृह जिर्ण बनेपछि मन्त्री आफैले चासो लिएर चार करोड रुपैयाँ मर्मतकालागि पठाएका थिए ।
आधिकारिक रुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिकालाई पत्र पठाउँदै मर्मत सम्हारमा बजेट खर्च गर्न निर्देशन दिएको थियो । तर महानगरपालिकाले वीरेन्द्रसभा गृहको पूननिर्माणकालागि २३ करोड हाराहारीको बजेट लाग्ने डिपिआर तयार भएको भन्दै मन्त्रीको बजेट थोरै भएको र अन्तिम समयमा आएको बताउँदै खर्च गर्न नसकिएको जनाएको छ ।
महानगरका मेयर भीम पराजुलीले ढिलो गरि थोरै बजेट आएका कारण बजेट फ्रिज हुने अवस्थामा पुगेको बताए । उनले सभागृहको पूनर्निमाणका लागि नगरबिकास कोषसँग लगानीकालागि प्रस्ताव पेश गर्ने तयारी भईरहेको पनि जानकारी दिए ।