१७ असार, काठमाडौँ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्ने बताएका छन् । अर्थमन्त्री खतिवडाले पूँजी बजारलाई संचालनमा सरकारले रोकावट नगरेपनि त्यसले राम्रोसँग काम नगरे कडा निगरानी राख्ने पनि स्पष्ट पारेका छन् ।
मंगलबारबाट काठमाडौंमा सुरु भएको वित्तिय साक्षरतासम्बन्धि वृहत अन्तराष्ट्रिय सम्मेलनमा बोल्दै उनले नेपालमा पनि पूँजी बजारले राम्रोसँग काम नगरेकाले नियमनकारी निकायलाई निगरानी गर्नु परेको पनि उनले स्पष्ट पारे । अर्थमन्त्री खतिवडाले नेपालमा रेमिट्यान्सको पूँजी परिचालन गर्नेहरुलाई वित्तिय साक्षर बनाउनुपर्नेमा पनि जोड दिए ।

५० लाखभन्दा बढि युवाहरुले वैदेशिक रोजगारीमा गएका कारण उनीहरुका परिवारका सदस्यले वित्तिय कारोबार गरेपनि उनीहरुलाई सुरक्षित र भरपर्दो बैंक तथा वित्तिय संस्थाहरुको बारेमा समेत जानकारी नभएको अर्थमन्त्री खतिवडाको भनाई छ । उनले महिलाहरु पनि वित्तिय कारोवारमा संलग्न हुने क्रम बढेकाले उनीहरुलाई साक्षर बनाउने काममा पनि लगानी गर्नुपर्नेमा जोड दिए । अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तिय संस्थालाई भरपर्दो प्रविधिको प्रयोग गर्न पनि सचेत गराए ।
नेपाल धितोपत्र बोर्ड र ओईसिडीले वित्तिय साक्षरता बढाउने उद्देश्यका साथ सो २ दिने अन्तराष्ट्रिय सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा भारत, अमेरिका, सिंगापुर, थाईल्याण्ड, दक्षिण अफ्रिका, चीन, अष्ट्रलिया, भुटानसहितका पूँजी बजारका विज्ञहरु, लगानीकर्ताहरु सहभागी भएका छन् ।
