२२ असार, काठमाडौँ ।
सभामुख कृष्ण बहादुर महराले विषादी परीक्षण नगर्ने निर्णय लगायत समसामयिक विषयमा सांसदहरुले उठाएका विषयबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।
प्रतिनिधिसभाको आईतबारको बैठकको सुरुमै नेपाली कांग्रेसका प्रमुख सचेत बालकृष्ण खाँडले भारतबाट आयातित तरकारी तथा फलफुलको विषादी परीक्षण नगर्ने सरकारको निर्णयप्रति आपत्ती जनाउदै त्यसबारे सरकारको जवाफ माग गरेका थिए । राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद शाहले पनि राज्यसत्ताले मधेसी र थारु समुदायप्रति क्रुर, निर्दयी र अमानविय व्यवहार गर्दै गएको भन्दै प्रहरी दमनको भत्र्सना गर्दे त्यसबारे गृहमन्त्रीको जवाफ माग गरेका थिए ।
दुवै सांसदले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउदै जवाफ मागे पछि सभामुखले ती विषय बारे सदनको आगामी बैठकमा जानकारी राउन सम्बन्धीत मन्त्रीहरुलाई निर्देश गरेका हुन् । उनले भने “माननिय सदस्यहरु, माननिय सदस्यहरुले आज बैठकको सुरुमै केही विषयहरु उठाउनुभएको छ । जो आफैमा धेरै महत्वपुर्ण र गम्भीर छन् । म यस विषयमा सम्बन्धीत मन्त्रीहरुलाई सदन समक्ष आगामी बैठकमा जानकारी गराउन निर्देश गर्दछु । ”
आफुहरुले उठाएका विषय प्रति सरकार जिम्मेवार नभएको भन्दै पटक पटक सांसदहरुले बैठकमा सरकारको ध्यानाकर्षण गराउदै आएका छन् ।
